समाचारबुधबार, साउन ६, २०७२
सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्छ: मन्त्री रिजाल
सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
“एक/दुई दिन ढिलो गरेर केही हुँदैन्, तर हतारोमा संविधान जारी गर्दा समस्या हुन्छ । संविधान जारी गरौँ तर सीमाङ्कनसहितको गरौं,” ताप्लेजुङ पुगेका रिजालले भने ।
मस्यौदामाथिको सुझाव सङ्कलन गरेर ६ साउनमा ताप्लेजुङबाट फर्किने क्रममा इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले जनताले दिएका सुझावको कदर गर्दै सङ्घीयतासहितको संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
“जनताले धेरै किसिमका सुझाव दिएका छन्, सबैको गहन अध्ययन र विश्लेषण गरेर संविधानमा समेटिने छ,” उनले भने ।
मस्यौदामा रायसुझाव दिन समय नपुगेको भन्ने जनताको गुनासोप्रति मन्त्री रिजालले मस्यौदामा जनताका रायसुझाव लिने समय नपुगेको स्वीकार्दै तर, हतारमा भए पनि राम्रै सुझाव आएको बताए ।
“सीमाङ्कनसहितको संविधान जारी गरेमा असन्तुष्ट दल पनि सहमतिमा आउँछन्,” उनले भने ।
मन्त्री रिजालले संविधान बनेपछि तत्काल प्रधानमन्त्री, राष्ट्रपति पाउने आशामा केही दलहरुले हतार गरेकाले सुझाव संकलनका लागि समय कम बनाइएको समेत दाबी गरे ।
हतार गर्नुभन्दा केही समय लिएर भए पनि दिगो, लोकतान्त्रिक र सबैलाई मान्य हुने संविधान जारी गर्न सकेमा त्यो नेपाल र नेपाली जनताको हितमा हुने र त्यसले दिगो शान्ति कायम गर्ने सञ्चार मन्त्री रिजालको भनाइ थियो ।
