समाचारबुधबार, साउन ६, २०७२
मन्त्री खड्काको प्रष्टोक्ती, ‘मसँग पीआर छैन’
सहरी विकास मन्त्री नारायण खड्काले आफूसँग विदेशी राष्ट्रको स्थायी बसोवासको अनुमतिपत्र (पीआर) नभएको स्पष्ट पारेका छन् ।
मन्त्री खड्काले विज्ञप्ति जारी गर्दै अध्ययनको क्रममा भारत, केही युरोपेली राष्ट्र र उत्तर अमेरिकाको क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीका हैसियतले अनुसन्धान छात्रवृत्ति प्राप्त गरी विद्यावारिधि र अनुसन्धान गरेको तर एकमुष्ट दुई वर्षभन्दा बढी समय नेपाल बाहिर नबसेको जानकारी दिए ।
अध्ययन/अनुसन्धानका लागि २०४५ सालमा बाह्य देशमै वैवाहिक सम्बन्ध कायम भएपनि २०४६ सालको जनआन्दोलनपछि एक÷डेढ महिना मात्र उक्त देशको भ्रमण गरी त्यसयता निरन्तर रुपमा नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा सक्रिए रहेको स्पष्ट पारे ।
विज्ञप्तिमा भनिएको छ, “विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय रही पटकपटक जेल जीवन भोगिसकेको र आफ्नो सम्पूर्ण समय र शक्ति, नेपाली जनता र मातृभूमिको सेवामा समर्पित रहेको व्यक्ति भएको हुनाले बाह्य अवसर प्राप्त हँदाहुँदै पनि त्यसलाई परित्याग गरी स्वदेशमै सेवारत रहेको छु र रहिरहने प्रण गर्दछु ।”
उनले आफ्नो पारिवारिक सम्बन्धको राष्ट्रमा एकपटक पनि भ्रमण नगरेको २० वर्ष पुगिसकेको जानकारी दिए । विज्ञप्तिमा मन्त्री खड्काले आफ्नो पारिवारिक सम्बन्ध कुन राष्ट्रसँग रहेको छ भन्ने तथ्य भने खुलाएका छैनन् । रासस
