समाचारबिहीबार, साउन ७, २०७२
संसदमा राप्रपा नेपालको चेतावनी
राप्रपा नेपालले हेटौडामा पार्टीका नेता- कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद चल्न नदिने चेतावनी दिएको छ ।
७ साउनमा बसेको व्यवस्थापिका संसदको बैठकमा राप्रापा नेपालले घटनाको स्वतन्त्र छानवीन गरी दोषीलाई कारवाहीको माग गरेको छ ।
संसदको बैठक शुरु भएलगत्तै राप्रपा नेपालका सभासदहरुले उठेर विरोध गरेपछि सभामुख सुवास नेम्बाङले सभासद दिलनाथ गिरीलाई बोल्न समय दिए ।
गिरीले आफ्ना नेता कार्यकर्तामाथि हेटौंडामा सरकारले प्रहरी र गुण्डा प्रयोग गरेर आक्रमण गराएको आरोप लगाए । उनले भने, “फरक मत राख्नेले बाँच्न पाउने अधिकार छ कि छैन ?”
गिरीको भनाईपछि सभामुख नेम्वाङले उक्त घटनाबारे अब आउने बैठकमा गृहमन्त्री बामदेव गौतमलाई जवाब दिन बोलाइने बताए ।
राप्रापा नेपालको चेतावनीसँगै आजको बैठक स्थगित भएको छ । अर्को बैठक १० साउन अपरान्ह ३ बजे बोलाइएको छ ।
संविधानको मस्यौदामाथि जनताको सुझाव कार्यक्रममा बिरोध गर्न पुगेका बेला भएको झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, उनका भाई एवम् सभासद गणेश थापा लगायतका नेता-कार्यकर्ताहरु घाइते भएका थिए ।
