समाचारबिहीबार, साउन ७, २०७२
प्रहरी कुटपिटबाट बेहोस बनेका बालकको अझै होस् खुलेन
बन्दका क्रममा जनकपुरको जानकी चोंकमा प्रहरीको कुटपिटबाट बेहोस बनेका एक बालकको अझै होस खुल्न सकेको छैन ।
५ साउनमा आह्वान गरिएको बन्दका क्रममा प्रहरीले जनकपुर–४, धनुषाका १४ बर्षीय बालक दिनेशकुमार साहलाई निर्धात कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस् बालकको अझै होस् खुल्न नसकेको उनका बाबु श्रवणले बताए ।
साहको अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनका बाबु श्रवणले भने, “अहिलेसम्म होस् खुलेको छैन ।” बजारबाट घर फर्कने क्रममा बालकलाई प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
मस्यौदामाथि सुझाव संकलनको विरोधमा प्रहरीसँग झडपको अवस्था सृजना भएपछि आह्वान गरिएको बन्दमा बालक कुटिएका हुन् । प्रहरीले भने प्रहरीमाथि ढुंगा हानेकाले त्यसको प्रतिरोध गर्दा बालक घाइते भएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घटना अनुसन्धान गर्न निर्देशन दिएको बताए । उनले भने, “घटना हुँदा एसपी गणेश थापासँगै थिएँ, जानकी प्रहरी चौकी आक्रमणको सूचना आएपछि एसपी थापा त्यता गएका थिए । केही समयपछि बालकको टाउँको फुटेको समाचार आयो ।”
एसपी थापाले भने दोहोरो झपडमा बालक घाइते भएको जानकारी गराएका छन् । प्रजिअ पराजुलीले भने, “प्रदर्शनकारी र प्रहरीको बीच बालक पर्दा घाइते भएको जानकारी प्रहरीले दिएको छ ।”
साहको टाउँको फुटेलगत्तै स्थानीय स्वास्थ्य चौकीले उपचार संभव नहुँने जनाएपछि विराटनगर लगिएको थियो ।
-दीपक मिश्र, जनकपुर
