समाचारशुक्रबार, साउन ८, २०७२
जबर्जस्ती बन्द गराउँदै हिँडेका ७५ जना पक्राउ
जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाडौँबाट र एकजनालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुमध्ये केहीले बोतल र जर्किनमा पेट्रोल बोकेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए । नियन्त्रणमा लिइएकालाई आवश्यक छानबिनपश्चात् मात्र रिहा गरिने प्रहरीले बताएको छ ।
माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले बताए ।
बन्दकर्ताले बिहान काठमाडौँमा पाँच र ललितपुरमा तीनवटा सवारी साधनमा तोडफोड गरेको बाहेक उपत्यकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बन्दको त्रासले उपत्यकामा फाट्टफुट्टमात्र सार्वजनिक सवारी साधन चलेका कारण जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण उपत्यकामा पसल, उद्योग, कलकारखाना, शैक्षिक संस्था, कार्यालयसमेत प्रभावित भएका छन् ।
रासस
