समाचारशनिबार, साउन ९, २०७२
३१ साउनमा नयाँ संविधान जारी गर्ने सहमति
प्रमुख राजनीतिक दलले साउनमसान्तभित्रै नयाँ संविधान जारी हुने गरी कार्यतालिका बनाउन सुझाव दिएका छन् ।
सभाध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा आयोजित बैठकमा प्रमुख चार दलका शीर्ष नेताहरुले जनताले दिएको सुझावलाई समावेश गरेर साउनमसान्तभित्र नयाँ संविधान जारी गर्ने प्रतिबद्धता समेत जनाए ।
नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका शीर्ष नेताहरुले जनताले दिएको सुझाव समेटेर संविधानको मस्यौदा परिमार्जन गर्न तयार हुने प्रतिवद्धता समेत जनाए ।
गत २५ जेठमा भएको १६ बुँदे सहमतिका आधारमा संविधानको प्रारम्भिक मस्यौदा तयार भएको थियो । प्रारम्भिक मस्यौदामा नागरिकको सुझाव लिने क्रममा जनताले १६ बुँदे सहमतिलाई अनुमोदन गर्दै मस्यौदालाई केही हदसम्म परिमार्जन गर्न नेतृत्वको ध्यानाकर्षण गराएको चारदलको बुझाई छ ।
जनताले खासगरी वडादेखि मुलुकको कार्यकारी प्रमुखसँग प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न, धार्मिक स्वतन्त्रता, निर्वाचित हुने व्यक्तिको शैक्षिक योग्यता तोक्न, हिमाल पहाड, तराई मिलाएर सङ्घीय राज्य निर्माण गर्न तथा हरेक तहमा महिलाको समान सहभागिताको सुनिश्चितता गर्नेलगायत सुझाव दिएका छन् ।
“यही साउन मसान्तभित्र संविधान जारी गर्न सकिन्छ, गर्नुपर्छ, त्यो हरेक किसिमले ठीक हुन्छ”, सभाध्यक्ष नेम्वाङले भने । उनले दलहरुसँग ३१ साउनमा जारी गर्न उपयुक्त हुने बताए । नेम्वाङले भने, “उहाँहरु (शीर्ष नेता)ले त्यसमा सहमति जनाउँदै त्यसअनुरुप अगाडि बढ्न भूमिका निर्वाह गर्ने र सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”
