समाचारआइतबार, साउन १०, २०७२
‘उत्तर-दक्षिणका प्रदेश नबनाए अस्थितरता झनै बढ्छ’
संविधान मस्यौदा समितिका सदस्य अइन्द्रसुन्दर नेम्बाङले हिमाल, पहाड र तराईलाई मिलाएरै प्रदेश निर्माण गर्नु उपयुक्त हुने बताउँछन् ।
“हेर्नुहोस साँधमा शक्ति मुलुकहरु छन्,” ९ साउन दिँउसो झापाको दमकमा हिमालसँग कुरागर्दै नेकपा मालेका मुख्य सचेतक समेत रहेका नेम्बाङले भने, “उत्तर दक्षिणका राज्य नबनाउने हो भने विशाल शक्तिशाली छिमेकी देशहरुको राजनीतिक चुम्बकत्वले यहाँका राज्यहरुलाई प्रभाव पार्ने खतरा सँधै हुन्छ ।”
उनले तराई केन्द्रित केही नेताहरुले काठमाडौंलाई नाकाबन्दी गरिदिन्छौं भनेको स्मरण गर्दै त्यस्ता अभिब्यक्तिले खतराको संकेत गरेको बताए ।
विकास गर्न र मौलिक ढंगले मुलुकलाई अघि बढाउन उत्तर दक्षिण फैलिएका राज्यहरु निर्माण गर्नुपर्ने उनको धारणा छ । भन्छन, “उत्तर—दक्षिण राज्य बनाउँदा मात्र बलियो राज्य बन्ने छ ।”
संविधान मस्यौदा समितिको मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगहरु हेर्ने उपसमितिका संयोजक समेत रहेका नेम्बाङले मुलुकमा असी प्रतिशतभन्दा बढी संख्याामा भएका हिन्दु वा अरु कुनै जातजातिले मागे जस्तो धार्मीक वा जातीय राज्य हुने संभावना पनि नरहेको बताए ।
सयभन्दा बढी जातजातिको बसोबास भएको मुलुकमा कुनै निश्चित जातिकै नाममा राज्य बनाउँदा अरुले हेपिएको ठान्ने र द्वन्द्व साथै अस्थिरता बढने उनको भनाई छ ।
“ठूला नेताहरु आँट गर्दैनन् र अन्योलता बढने स्थिति आउँछ,” उनले भने, “संघीयताको स्वरुप र प्रदेश निर्माणबारे ठूला दलका नेताहरु कमै बोलिरहेका छन् ।”
उनले भने, “सबै जाति र धर्मबीचको सहिष्णुता र सह–अस्तित्व नै विकासको आधार हो ।”
गोपाल गडतौला, झापा
