समाचारसोमबार, साउन ११, २०७२
विवादित भवनमा मालपोत
-सन्त गाहा मगर
महाभूकम्पले चर्किएपछि काठमाडौंको चाबहिलस्थित सरस्वती मिनिमार्केट बन्द भयो । तर, बालकृष्ण मानन्धरको उक्त भवनमा यतिबेला धमाधम मर्मत चलिरहेको छ । (हे. तस्वीर)
व्यापारीहरूले समेत बस्न अस्वीकार गरेको यो भवनमा स्वयं सरकारी कार्यालय बस्न लागेको हो । दोस्रो ठूलो भूकम्प आएकै दिन २९ बैशाखमा गोरखापत्रमा सूचना प्रकाशित गरि घर आव्हान गर्दा मानन्धरले निवदेन दिएका थिए । यसैको आधारमा मालपोत सर्न लागेको हो ।
जोखिमयुक्त घरमा मालपोत कार्यालय सर्ने निर्णयको विरोधमा लेखापढी व्यावसायी दिवाकर रिजाल(४८)ले पुनरावेदन अदालत पाटनमा दिएको निवेदन नै हालेका छन् । “…चिरा–चिरा भएर चर्किएपछि साविक बसेका मानिसहरूले डरले छाडेको घरमा पुुटिङ लगाएर टाल्न लगाई कमिशनको लोभमा कार्यालयका लागि उपयुक्त नभएको घरमा सर्न लागेकाले….उजुरी दिन आएका छौं ।”, निवेदनमा भनिएको छ ।
तर, मालपोत कार्यालय चावहिलका प्रमुख गोविन्द अधिकारी रेट्रोफिट गरेरै भए पनि सोही भवनमा कार्यालय सार्ने तयारी गरिरहेको बताउँछन् । उनी भन्छन्, “तर, सर्ने सम्पूर्ण तयारी सकिइसकेको छ ।” मातपोतकै एक अधिकारी सर्ने भनिएको भवन हाइभोल्टेज लाइन नजिकै रहेको, बाटो र पार्किङको अवस्था राम्रो पनि नभएको बताउँछन् ।
तर, अहिले मालपोत बसिरहेको भीमबहादुर कार्कीको घर पनि विवादमा छ । (हे. तस्वीर) छ तले उक्त भवनको माथिल्लो दुई तलाको नक्सापास नगरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । उनै कार्कीले फागुन, २०६८ फागुनदेखि घर अगाडिको सरकारी जग्गामा टहरा बनाएर भाडा असुलिरहँदा मालपोतका अधिकारीहरुले आँखा चिम्लिदिएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले भने कार्कीसँग २०७० चैतसम्मको टहरा भाडावापत् रु. पाँच लाख ४६ हजार असुल्न काठमाडौं महानगरपालिकालाई एकवर्ष अघि नै १५ दिने निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्यन नभएपछि केन्द्रले १७ जेठ २०७१ महानगरपालिकामा अर्को निर्देशन दियो । तर, कार्कीको पहुँचसामु महानगरपालिका पनि निरीह देखिन्छ ।


