समाचारसोमबार, साउन ११, २०७२
नयाँ संविधानमा मधेशबाट धेरै सुझाव
नयाँ संविधानको प्रारम्भिक मस्यौदामा मधेशका जिल्लाहरुबाट धेरै सुझाव आएको नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिले जनाएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सुझावको एकीकृत प्रतिवेदन बुझाउँदै समितिले मधेशका जिल्लाहरुबाट बढी सुझाव आएको जनाएको हो । एक लाख ८४ हजार ६७४ जनाले प्रत्यक्ष दिएको सुझावमा सबैभन्दा बढी बर्दियाबाट आएको छ ।
२८ हजार ८८० जना बर्दियाबासीले प्रत्यक्ष सहभागी भएर सुझाव पठाएका छन् । यस्तै, बढी सुझाव आउने दोस्रो जिल्ला नवलपरासीबाट १२ हजार ३६६ र तेस्रो जिल्लाका रुपमा कैलालीबाट १२ हजार सुझाव आएको छ । समितिले बुझाएको प्रतिवेदन अनुसार पहाड र हिमालका जिल्ला भन्दा बढी सुझाव मधेशबाटै आएको छ ।
संविधानसभाले दिएको कार्यतालिका अनुसार ४ र ५ साउनमा देशभरबाट सुझाव संकलन गरिएको हो । सुझाव संकलन समितिले प्रतिवेदन बुझाएपछि अव भोलि बस्ने संविधानसभा बैठकमा यो प्रतिवेदन पेश गरिने संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुईँकेलले बताए ।
संविधानसभाले साउन मसान्तभित्रै नयाँ संविधान जारी गर्नेगरी कार्यतालिका तय गरिसकेको छ ।
