समाचारमंगलबार, साउन १२, २०७२
भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको निधन
भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको ८३ वर्षको उमेरमा निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार ११ साउनमा शिलंगमा आयोजित एक कार्यक्रममा भाषण गर्दागर्दै लडेका कलामलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल पुर्याएको केहीबेरमै उनको मृत्यु भएको हो ।
तमिलनाडुको रामेश्वरमा जन्मेका अब्दुल कलाम भारतका प्रसिद्ध मिसाइल वैज्ञानिक थिए र उनी सन् २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति रहे ।
भारत सरकारले उनको निधनमा सात दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शोकसन्देश जारी गर्दै महान वैज्ञानिक, अदभुत राष्ट्रपति र एक प्रेरणादायी व्यक्तिको निधन भएको उल्लेख गरेका छन् ।
कलामको पार्थिव शरीर आजै दिल्ली पुर्याइने र तीन बजे अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कलामले आफ्ना स्कुले दिनहरुमा पत्रिका वितरकको काम पनि गरेका थिए । पत्रिका वितरक, एरोनटिकल इञ्जिनियर, ठूला वैज्ञानिक हुँदै राष्ट्रपतिसम्म पुगेका उनको जीवनकथा रोचक छ ।
प्रधानमन्त्री सुशील कोइरालाले कलामको निधनप्रति शोक वक्तव्य जारी गर्दै शोकाकुल परिवार र समस्त भारतीय जनतामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
वक्तव्यमा कलामको सर्वकालीन विचारले हाम्रो समाजलाई उन्नती र प्रगतिको पथमा लैजाने उल्लेख छ ।
