समाचारमंगलबार, साउन १२, २०७२
गैंडाकोटमा अवरुद्ध राजमार्ग बेलुकासम्म एकतर्फी खुल्ने

तस्वीर: विद्रोही गिरी
११ साउन साँझ भाँचिएको नवलपरासीको गैंडाकोटस्थित जयश्री पुलको दक्षिणतर्फबाट बैकल्पिक बाटो (डाइभर्सन) निर्माण शुरु भएको छ । डाइभर्सन आजै साँझसम्म बनिसक्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।
पुल भाँचिएको १४ घण्टा पछि डाइभर्सनको काम शुरु भएको हो । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर दीपककुमार भट्टराईका अनुसार सडक कार्यालयका औजारहरु प्रयोग गरी डाइभर्सन बनाउन लागिएको छ ।

तस्वीर: विद्रोही गिरी
पुल भाँचिदा अलपत्र परेका हजारौं यात्रीले सडक र सवारी साधनमै रात विताएका थिए । केही यात्रुहरु भने जोखिम मोलेरै पुल पार गरी गन्तब्यतर्फ लागेका छन् ।
१२ साउन साँझसम्म डाइभर्सन बनाई एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइने इन्जिनियर भट्टराईले भने ।
कमजोर पुलमा ट्रिपर र ट्रकले एकैसाथ बाटो पार गर्न थालेपछि ओभरलोड भई पुल भाँचिएको स्थानीयबासीले बताए । पुलको दायाँ बायाँ रहेका फलामका पाताहरु भाँचिएर करिब पाँच फिट तल धसिएको छ ।
त्यहाँ बनाउन लागिएकोे डाइभर्सन बाढीले बगाउन सक्ने भएको अब उक्त स्थानमा बेली ब्रिज बनाइने र उक्त ब्रिजको निर्माण कार्य दश दिनमा सम्पन्न हुने भट्टराईको भनाई छ । उनले भने, “डाइभर्सन अस्थायी हो ठूलो बाढी आएर बगाउन सक्छ ।”
