समाचारबुधबार, साउन १३, २०७२
कांग्रेस नेता देउवा दिल्ली प्रस्थान
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
भारत सरकारको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि उनी १३ साउनमा अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराजलगायत वरिष्ठ नेता र अन्य मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले भ्रमणका त्यस्तो विशेष ‘अजेण्डा’ नरहे पनि भारतीय नेतासँग द्विपक्षीय हितका विषयमा छलफल गरिने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता देउवाले मुलुक संविधान निर्माणको महत्वपूर्ण चरणमा रहेको र दलहरुबीच अधिकतम् सहमतिका आधारमा संविधान जारी गर्ने प्रयास भइरहेको बताए ।
नेता देउवाले भ्रमणका क्रममा आफूले नेपालमा लगानीको उचित वातावरण बन्दै गएको अवस्थामा लगानीका लागि भारतलाई आग्रह गर्ने बताए ।
