समाचारबिहीबार, साउन १४, २०७२
चितवन: पहिरोका कारण १५ घर विस्थापित, पदमपुर डुबानमा
वर्षाका कारण पहिरो खस्न थालेपछि चितवन शक्तिखोर नाइबन्दीका १५ घर विस्थापित भएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विस्थापित भएकाहरुलाई शक्तिखोरको फेदीमा व्यवस्थापन गर्न लागिएको बताए ।
सो क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएकाले रातिदेखि नै स्थानीय जनताले घर छाड्न थालेको प्रजिअ उनले जानकारी दिए ।
पहाडी क्षेत्रका विभिन्न स्थानमा ठूल्ठूला पहिरो गएको स्थानीयवासी निमबहादुर गुरुङले बताए ।
उक्त क्षेत्र भूकम्प प्रभावित क्षेत्र हो । चितवनको पहाडी क्षेत्रका दर्जनौं स्थानमा पहिरो खसेको छ । आजै चितवनका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले विभिन्न क्षेत्रको अनुगमन गरेको थियो ।
यस्तै, रातिदेखि आएको बाढीले पदमपुरमा दुई दर्जन घर डुबाएको छ । पिठ्वाका सुकुम्बासी बस्तीसमेत डुबानमा परेको छ ।
सौराहाका दर्जन बढी पव/रेस्टुराँसमेत डुबेका छन् ।
बाढी र पहिरोका कारण अहिलेसम्म चितवनमा एक जनाको मृत्यु र एकजना हराइरहेको प्रहरीले जनाएको छ ।
