समाचारशनिबार, साउन १६, २०७२

कर्मचारी खिचडी पकाउँछन्, कसरी होस् कामः मन्त्री पण्डित

हिमालखबर

panditसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारी इमान्दार नभएको आरोप लगाएका छन् ।

प्रकाश मानवअधिकार पुरस्कार २०७१ वितरण गर्न इन्सेकले १६ साउनमा राजविराजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले राष्ट्र सेवक भए पनि एनजिओ, आइएनजिओको काम र व्यापार, व्यवसाय पनि गरेकाले सरकारी कामकाज दुरुस्त हुन नसकिरहेको बताए ।

“इन्जिनियर अर्थ मन्त्रालयमा जान मरिहत्ते गरिरहेका हुन्छन्, अर्थशास्त्र पढेका प्रशासनमा जान जाहन्छन,” उनले भने, “स्थानीय विकास मन्त्रालयमा इन्जिनियर आउन नमान्नु र अर्थशास्त्र पढेकाहरु अर्थ मन्त्रालय जान नमान्नु खिचडी पकाउने काम होइन् ?”

उच्च पदमा रहेका कर्मचारीहरुले नै विदेशको स्थायी बसोबास अनुमति पत्र लिएर विदेशलाई बढी माया गरिरहेको पाइएको बताउँदै उनले यस्ता कर्मचारीहरुलाई ठीक ठाउँमा ल्याउनकै लागि निजामति सेवा ऐनको चौथो संशोधन गराएको बताए ।

यो ऐन संशोधन गराउनका लागि शुरुमा विधेयक ल्याउँदा आफूलाई ज्यान मार्ने धम्की नै आएको बताउँदै मन्त्री पण्डितले भने, “त्यसको पर्वाह नराखी ऐन संशोधन गराएपछि अब ग्रीन कार्ड लिएर विदेशमा रकम जम्मा गर्ने र विदेशको मोह राख्ने कर्मचारीलाई एक महिना सोच्ने समय दिएको छु । नसोचेमा टाटा, बाइ बाई गरिन्छ ।”

एकसाइडको मायाले काम चल्न नसक्ने बताउँदै राष्ट्र सेवक बनेर आफ्नो मात्र स्वार्थ देख्ने र राष्ट्र र जनताका लागि काम नगर्नेहरुको अब कुनै काम नभएको मन्त्रीले बताए ।

“जनताको पसिनाको कमाई खाने तर देश र जनताकै लागि काम नगर्नेहरु अब दण्डनीय हुन्छन्’ मन्त्री पण्डितले भने, “अब समयमा कार्यालय नआउने, आधा समय मात्रै दिइने कर्मचारीलाई दण्डित गरिनेछ ।”

संविधानः शक्ति सन्तुलनको दस्तावेज

मन्त्री पण्डितले शक्ति सन्तुलन दस्ताबेजको रुपमा चाँडै संविधान जारी हुने बताए ।

“संविधान लेखन शिलालेख जस्तै होइन, “एक पटक जारी भइसकेपछि पनि प्रक्रिया पु¥याएर चाहेजति संशोधन गर्न सकिन्छ,” पण्डितले भने ।

विश्वकै सबैभन्दा धेरै राम्रो संविधान भएको भारतको संविधान त बर्षमा दुई पटक संशोधन हुने गरेको बताउँदै उनले थप्नुपर्ने र घटाउनुपर्ने कुराहरु संशोधन गर्दै जानुपर्ने बताए ।

पुरस्कारको रकम पुरस्कारकै लागि
कार्यक्रममा प्रकाश मानवअधिकार पुरस्कार बैद्यनाथ झालाई प्रदान गरियो ।

पत्रकारिताका साथै मानवअधिकार क्षेत्रमा सकृय झालाई रु ५० हजार नगदसहित सम्मानपत्र मन्त्री पण्डितले वितरण गरे ।

पुरस्कार पाउने झाले पुरस्कार वापत पाएको रकम अक्षय कोषको रुपमा बैंकमा जम्मा गरी त्यसबाट आउने ब्याजले प्रत्येक वर्ष युवा अधिकारकर्मीलाई पुरस्कृत गरिने उनले घोषणा गरे ।

श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>