समाचारमंगलबार, साउन १९, २०७२

सीमाङ्कन सहितको संविधान साउनभित्र: प्रम

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले साउनभित्रै प्रदेशको सीमाङ्कन सहितको संविधान जारी गरिने बताउँदै त्यसकै लागि दलहरू छलफलमा जुटिरहेकाले बताएका छन् ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआए जनतामा निराशा उत्पन्न हुने भन्दै थपे, “प्रदेशको सीमाङ्कनसहित साउनभित्र संविधान जारी हुनेमा म धेरै आशावादी छु । संविधान ल्याउनुको विकल्प छैन, त्यसकै लागि हामीहरू दिनभर छलफल गरिरहेका छौं । सञ्चारमाध्यमले नकारात्मक सन्देश प्रवाह गर्नुभएन ।”

उनले संविधान निर्माणकै लागि आठवर्ष बितिसकेकाले अब धेरै समय लिनु उचित नहुने बताउँदै सबै दल, जनता र अन्तर्राष्ट्रिय समुदाय चिन्तित भएकाले ढिलो गर्दा थप निराशा पैदा हुने धारणा राखे ।

उनले मधेशवादी मोर्चालगायत असहमत पक्षलाई पनि सहमतिमा ल्याउन सीमाङ्कनसहितको संविधान आउने उल्लेख गर्दै ‘संविधान च्यात्छु’ भन्दैमा कसैलाई फाइदा नहुने बताए ।
प्रधानमन्त्री कोइरालाले सङ्घीयताको सीमाङ्कन टुङ्गिएमा नामाङ्कन ठूलो समस्या नहुने पनि बताए ।

यसैबीच, बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यही साउनभित्रै संविधान आउने विश्वास व्यक्त गरे ।
उनले भने “हामी कार्यविभाजन गरेर काम गरिरहेका छौं । सीमाङ्कनसहितको संविधान यही साउनभित्र आउँछ ।”

संविधानको प्रारम्भिक मस्यौदामा जनताका सुझावका आधारमा परिमार्जनका लागि सहमति जुटाउने जिम्मा पाएको शीर्षनेता सम्मिलित विशेष समितिको अर्को बैठक आजै बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>