समाचारमंगलबार, साउन १९, २०७२
गृहमन्त्रीलाई जवाफ दिन सभामुखको निर्देशन
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित सभासद तथा अधिकारकर्मीमाथि भएको प्रहरी दमनबारे जवाफ दिन गृहमन्त्री बामदेव गौतमलाई सभामुख सुवास नेम्वाङले निर्देशन दिएका छन् ।
नयाँ संविधानमा दलित अधिकार सुनिश्चित हुनुपर्ने नौ बुँदे मागसहित एक घण्टे चक्काजाममा उत्रिएका अधिकारकर्मीहरुलाई काठमाडौंको विजुलीबजारमा प्रहरीले दमन गरेको भन्दै संसदमा सांसदहरुले सरकारको विरोध गरेका थिए । जवाफ नपाएसम्म संसद् चल्न नदिने चेतावनीपछि सभामुख नेम्वाङले २० साउनमा बस्ने बैठकमा गृहमन्त्रीलाई घटनाबारे जवाफ दिन निर्देशन दिएका छन् ।
बिनियोजन विधेयकमाथि जारी बैठकमा विषेश समय लिएर विभिन्न दलका १६ जना दलित तथा गैरदलित सांसदहरुले गृहमन्त्रीकै राजिनामा मागेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दर्जन सभासद, नेता तथा कार्यकर्ता र अधिकारकर्मी कुटिएको सभासद जितु गौतमले बताए ।
उनले भने, “सभासदहरु नै कुटिए, धेरैको हातखुट्टा भाँचिएको, टाउँको फुटेको र केही गिरफ्तारमा परेका छन् ।” सांसदहरुले गृहमन्त्रीले यो घटनाप्रति माफी माग्नुपर्ने माग राखेका छन् । गौतम भन्छन्, “शान्तिपूर्ण आन्दोलनमा दमन भएको छ, सरकारले यसबारे प्रष्ट जवाफ दिनुपर्छ ।”
संसद बैठकमा विभिन्न दलका सभासदहरु मिन विश्वकर्मा, जितु गौतम, खड्गबहादुर बश्याल, कर्णबहादुर विक, अखिलाल, सुजिता परियार, अग्नी सापकोटा, भानुभक्त ढकाल, दिपक गिरी, अइन्द्रसुन्दर नेम्वाङ, शिवलाल थापा, पर्शुराम तामाङ, लालबाबु राउत, प्रेम सुवाल र चित्रबहादुर केशीले घटनाबारे सांसदमा बोलेका थिए । संविधानसभामा विभिन्न दलबाट ४० जना दलित समुदायका सभासद छन् ।
