समाचारमंगलबार, साउन २६, २०७२
सुर्खेतमा कर्फ्यू, स्थिति तनावग्रस्त
अखण्ड मध्यपश्चिमको मागसहित सुर्खेतमा जारी आन्दोलनको दोस्रो दिनपनि सुर्खेतमा स्थानिय प्रशासनले कर्फ्यु लगाएको छ ।

तस्वीर: विनोद शाही
स्थिति नियन्त्रणभन्दा बाहिर जान थलेपछि साँझ ६ बजेदेखि राति ९ बजेसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तस्वीर: विनोद शाही
आज दिउँसो मंगलगढी चोकमा आन्दोलकारी र प्रहरीबीच झडप भइरहँदा गोली लागेर ८ जना आन्दोलनकारी घाइते भएका छन् ।
प्रहरीले ६ जना आन्दोलनकारीलाई पक्राउ गरेको जनाएको छ भने ५ जना प्रहरी पनि घाइते भएका छन् ।

तस्वीर: विनोद शाही
आन्दोलकारीहरुले निषेधित क्षेत्र तोडेपछि झडप शुरु भएको हो । अहिले निषेधित क्षेत्रबाट आन्दोलनकारीलाई प्रहरीले हटाउन सफल भए पनि कर्फ्युका बीच केही ठाउँमा झडप जारी नै छ ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आन्दोलन उग्र बनेपछि नियन्त्रण लिन हवाइ फाइरिङ गरिएको जानकारी दिंदै आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन् ।
यसअघि २५ साउनमा प्रहरीको गोली लागेर २ जना आन्दोलनकारीको मृत्यु भएको थियो ।
——————————————————————————–
सुर्खेतमा आज पनि हवाई फायर
अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै थालिएको आन्दोलनले हिंसात्मक रुप लिँदा आज २६ साउन पनि सुर्खेतमा प्रहरीले हवाई फायर गरेको छ ।
२५ साउनदिख जारी आन्दोलनले हिंसात्मक रुप लिएपछि आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आन्दोलन उग्र बनेपछि नियन्त्रणमा लिन हवाई फायरिङ गरिएको जानकारी दिए ।
सुर्खेतको स्थिति निकै तनावग्रस्त रहेको तर आफूले गोली चलाउने आदेश नभई हवाई फायरिङको मात्रै आदेश दिएको उनको भनाई छ ।
अहिले सयौँको सङ्ख्यामा आन्दोलनकारी प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा स्थानीय मङ्गलगढीमा प्रहरी र आन्दोलनकारी झडप भइरहेको छ ।
सुर्खेतवासीले मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरी सुर्खेत, दैलेख र जाजरकोटलाई सुदूरपश्चिम क्षेत्रमा गाभिएको विरोधमा बन्द आह्वान गरेका हुन् ।
