समाचारमंगलबार, साउन २६, २०७२

कर्णालीलाई स्वायत्त प्रदेश बनाउन माग गर्दै सभाध्यक्ष नेम्वाङको ध्यानाकर्षण

हिमालखबर

कर्णाली नागरिक सङ्घर्ष समितिले कर्णालीका कुनै पनि भू–भागलाई सुदूरपश्चिममा नमिसाउन माग गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको ध्यानाकर्षण गराएको छ ।

समितिका संयोजक एवम् पूर्व सभासद् चन्द्रबहादुर शाहीको नेतृत्वमा संविधानसभा भवन नयाँबानेश्वरस्थित अध्यक्षको कार्यकक्षमा गएको प्रतिनिधिमण्डलले कर्णालीलाई सुगम हुने गरी तथा त्यस क्षेत्रलाई नटुक्र्याउने गरी प्रदेश निर्माण गर्नुपर्ने माग गरेको हो ।

संयोजक शाहीले लामो समयदेखि कर्णाली क्षेत्रमा सरकारको दृष्टिकोण नपुगेका कारण त्यहाँ पूर्वाधार विकास निर्माण हुन नसकेको बताउँदै पर्याप्त सम्भावना भएर पनि त्यस क्षेत्रका नागरिक मूलधारमा आउन नसकेकाले कर्णालीलाई विशेष योजनाका साथ अघि बढाउन आग्रह गरे ।

सो अवसरमा अध्यक्ष नेम्वाङ्ले प्रदेश निर्माणको प्रक्रिया अझै टुङ्गी नसकेकाले त्यस क्षेत्रका जनताको चाहना तथा भावनालाई व्यावहारिक र वैज्ञानिकरुपमा अघि बढाउन दलहरुलाई आफूले सुझाव दिने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी डा कुलबहादुर रोकायले जानकारी दिए ।

सूदुरपश्चिममा राख्न नहुने
यसैगरी कर्णाली जनअधिकार मञ्चले कर्णाली अञ्चललाई सुदूरपश्चिममा नमिसाउन आग्रह गरेको छ ।

आज पत्रकार सम्मेलन गरी मञ्चका अध्यक्ष प्रकाश रोकायले कर्णाली क्षेत्रलाई सुदूरपश्चिम क्षेत्रमा राखेर कर्णाली क्षेत्रको भावनाको उपेक्षा गरेको बताए ।

उनले कर्णाली क्षेत्रलाई स्वायत्त प्रदेशको रुपमा राख्नुपर्नेमा जोड दिए ।

युवा सङ्घ नेपालका सचिव हस्त शाहीले कर्णालीलाई सुदूरपश्चिम प्रदेशमा राखेर कर्णालीमाथि खेलवाड गरेको बताउँदै कुनैपनि हालतमा कर्णालीलाई टुक्र्याउन नहुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>