समाचारबिहीबार, साउन २८, २०७२
आन्दोलन होइन वार्ता गर्नुस्: प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदामा चित्त नबुझेका विषयमा वार्ताबाट समस्याको उपाय खोज्न आह्वान गरेका छन् ।
व्यवस्थापिका–संसद्को २८ साउनको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले अब संविधान आउने निश्चित भएको र यसबाट फर्किने अवस्था नरहेको स्पष्ट पारे ।
“चित्त नबुझेका कुरा वार्तामा राखौँ, यहीबाट हल खोजौँ, आन्दोलनको बाटोभन्दा सहमतिको बाटो बलियो हुन्छ”–उनले भने ।
संविधान निर्माण हुन लागेको समयमा सबैले सहयोग पुर्याउनु पर्ने भन्दै उनले विरोध र आन्दोलन नगर्न आह्वान गरे ।
“सबैका हक अधिकार संविधानले स्थापित गर्दैछ, वार्ता, सहमति, सहकार्य र एकताबाटै संविधान निर्माण हुँदैछ, सात सालदेखि विभिन्न चरणका आन्दोलन र प्रयासबाट मुलुकमा ठूलो परिवर्तन भएको छ, सङ्घीयताका प्राप्ति नौलो कुरा भएको छ ” प्रधानमन्त्री कोइरालाले भने “सङ्घीता लागू भएपछि कठिनता देखिएको छ, त्यो कठिनाइ मिलेर समाधान गर्नुपर्छ, म विश्वास दिलाउन चाहन्छु सबैका हक अधिकार स्थापित हुँदैछन्, कुनै पनि आन्दोलन र तोडफोड गर्नु आवश्यक छैन ।”
हालको मस्यौदा अन्तिम नभएको र संविधानलाई पछि पनि समयानुकूल परिवर्तन गर्न सकिने भएकाले सबैलाई धैर्य गर्न प्रधानमन्त्री कोइरालाले आग्रह गरे ।
उनले भने, “जनताद्वारा निर्माण हुने संविधान आउँदैछ, शान्ति, स्थायित्व, लोकतन्त्रलाई स्थापित गरी विकासमा जानु परेको छ, अहिले साराको दृष्टि नेपालमा केन्द्रित छ, शान्ति र स्थायित्व यो देशले कहिल्यै देख्न पाएन, संविधान बनेपछि हामी शान्ति र विकासमा लान चाहन्छौँ ।”
रासस
