समाचारबिहीबार, साउन २८, २०७२
देशकै अन्नपानी खाएर देश टुक्र्याउन खोज्दैछन्ः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बनाउन सकेनौं भन्दै शिर निहुर्याएर नफर्कने बताएका छन् ।
२८ साउनको व्यवस्थापिका–संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा व्यक्ति व्यक्तिका माग एकै पटक पूरा गर्न नसकिने बताए ।
उनले भने, “यही देशको अन्नपानी खाई देश टुक्र्याउन चाहने तत्व यहाँ छन्, यस्ता तत्वले संविधानसभालाई असफल गराउन खोज्दैछन् । यो संविधान कसैका सोख पूरा गर्नका लागि बनाइएको होइन, नेपाली जनताको हक अधिकार सुनिश्चित गर्नका लागि हो ।”
राज्यबाट प्राप्त हुने सुविधा कसरी सहजरुपमा सबैलाई पुर्याउने भन्ने सोचका साथ सङ्घीयता ल्याइएकाले व्यक्ति व्यक्तिका भन्दा साझा नेपालीका इच्छा र चाहनालाई संघीय संविधानले सम्बोधन गर्ने ओलीको भनाई थियो ।
उनले जनताको जायज मागलाई संविधानसभाबाट संविधान जारी गर्ने अघिल्लो दिनसम्म समेटिने विश्वास दिलाउँदै ओलीले भने, “संविधान हाम्रा लागि होइन जनताका लागि हो । त्यसैले संविधान बन्न नदिने तत्वलाई घाँसमा पसेको हरियो सर्पलाई हटाएजस्तै हटाउनुपर्छ ।”
उनले सुर्खेत आन्दोलनमा मारिएका परिवारलाई क्षतिपुर्ति दिन र घाइतेको उपचार गर्न सरकारको ध्यानाकर्षण गराए ।
