समाचारशुक्रबार, साउन २९, २०७२
मस्यौदा तयार पार्न कार्यदललाई जिम्मा
संवैधानिक मस्यौदा समितिले संविधानको अन्तिम विधेयक तयार पार्ने प्रक्रिया शुरु गरेको छ ।
समितिको २८ साउनमा सिंहदरबारमा बसेको बैठकले दुई दिनभित्र विधेयक तयार पारी पूर्णसमितिमा पेस गर्न कार्यदललाई जिम्मा दिएको छ ।
कार्यदलले शुक्रबार र शनिबार गरी दुई दिनभित्र संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानसभामा पेस गरेको प्रतिवेदन, संविधानसभाको निर्देशनलाई आधार मानी अन्तिम विधेयक तयार पारिने सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
यस्तै मिल्न बाँकी रहेको विषयहरु मिलाउन प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिसँग आवश्यक परामर्शसमेत समितिले गर्ने सभापति सिटौलाको भनाइ छ ।
सङ्घीय प्रदेशको सीमाङ्कनको विषयमा प्रमुख राजनीतिक दलहरु सहमत भएपनि धर्मनिरेपक्षता राख्ने कि नराख्नेलगायतका विषयमा दलहरुबीच सहमति हुनसकेको छैन ।
यस्तै संवैधानिक निकायका प्रमुखको पुनःनियुक्ती गर्ने कि नगर्ने भन्ने विषयमा समेत दलहरुबीच अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।
सभापतिलगायत समितिका सदस्यले २९ र ३० साउनमा प्रमुख दलका शीर्ष नेताबीच विवादित विषयलाई सल्ट्याउन सम्वाद गर्ने छ ।
“रातदिन गरेर भएपनि संविधानसभाले दिएको समयसीमाभित्रै काम पूरा गर्छौ,मुलुकलाई संविधान दिन्छौ । विवादित विषयलाई टुङग्याउन पनि अन्तिम प्रयत्न गर्छौँ ।’’ सभापति सिटौलाले भने ।
समितिका सदस्य भरतमोहन अधिकारीले समितिले आवश्यकताका आधारमा कार्यदलले सम्वद्ध पक्षसँग छलफल गर्ने जानकारी दिए ।
समितिले सभापति सिटौलाको संयोजकत्वमा भरतमोहन अधिकारी, हितराज पाण्डे, रमेश लेखक, अइन्द्रसुन्दर नेम्वाङ र जितेन्द्र देव सदस्य रहनुभएको कार्यदललाई जिम्मा दिएको अर्का सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।
मस्यौदा समितिले कानुनी तथा संवैधानिक भाषामा सम्वाद समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।
