समाचारशुक्रबार, साउन २९, २०७२
अन्तिम मस्यौदा निर्माण शुरु
मस्यौदा समितिले नयाँ संविधानको अन्तिम मस्यौदा निर्माण शुरु गरेको छ ।
परिमार्जित मस्यौदालाई अन्तिम रुप दिन गठीत कार्यदलले काम शुरु गरेको मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले बताए । समितिले संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनलाई कानूनी तथा संवैधानिक भाषामा ढाल्ने, सूत्रबद्ध गर्ने काम थालेको हो ।
कार्यदलका सदस्यले जनताको भावना र मुलुकका विभिन्न तहतप्काबाट आएको सुझावलाई ध्यान दिएर अन्तिम मस्यौदा तयार पार्नेछन् ।
समिति सदस्य सीता नेपालीका अनुसार २९ साउन अवेरसम्म छलफल भएको र ३० साउन विहानैबाट छलफल गरी मस्यौदालाई अन्तिम रुप दिइनेछ । प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच छलफल जारी रहेको र विवादित विषयमा सहमति नभइसकेको अवस्थामा मिलेका विषयमा मात्रै अन्तिम मस्यौदा गरिनेछ ।
मस्यौदा समितिले सभापति कृष्ण सिटौलाको संयोजकत्वमा भरतमोहन अधिकारी, हितराज पाण्डे, रमेश लेखक, अइन्द्रसुन्दर नेम्वाङ, जितेन्द्र देव संलग्न कार्यदल गठन छ । आवश्यकताका आधारमा अन्य सदस्यलाई समेत कार्यदलको बैठकमा सहभागी गराइनेछ ।
धर्म, थ्रेसहोल्ड र संवैधानिक नियुक्तिबारे दलहरुबीच सहमति जुट्न सकेको छैन । ती विषयमा सहमति नहुँदा मस्यौदा समितिमा केही अन्योलता भने कायम हुन पुगेको छ । रासस
