समाचारशनिबार, साउन ३०, २०७२
दुई दर्जन आन्दोलनकारी प्रहरी नियन्त्रणमा
भैरहवामा बन्द गराउँदै हिंड्ने तथा सवारी साधनमा तोडफोड गर्ने २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
३० साउन दिउँसो भैरहवाबाट बुटवल जाँदै गरेको लु१ख ३०६४ र लु१ख ३५४१ नम्बरको बसमा तोडफोड गरेर क्षति पुर्याएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
थरुहट सङ्घर्ष समिति र संयुक्त मधेशी मोर्चाले गरेको अनिश्चितकालीन तराई बन्दले तराईको जनजीवन नराम्ररी प्रभावित बनेको छ । यद्यपि बुटवल तथा पूर्व–पश्चिम राजमार्गमा बिनाअवरोध सवारी चलिरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
यसैबीच, थरुहट सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दको विरोधमा भैरहवामा विरोध र्याली निकालिएको छ ।
लगातारको बन्दका कारण उद्योगी, व्यवसायी, विद्यार्थी र दैनिक मजदुरी गरी खानेहरु प्रभावित बनेको भन्दै उनीहरुले बन्दको विरोध गरेको हुन् ।
भैरहवाको नारयणस्थानबाट सुरु भएको र्याली मिलनचोक, देवकोटाचोक, बसपार्क, आँखा अस्पताल, बर्मेलीटोल, बुद्धचोक हुँदै विद्रोही चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
