समाचारआइतबार, साउन ३१, २०७२
सरकारी कार्यालय र सवारी साधन तोडफोड

तस्वीर: सुरेश विडारी
नेकपा–माओवादीसहित केही जनजाति र मधेशी केन्द्रित दलहरुले आह्वान गरेको बन्दका क्रममा वीरगञ्ज र बाराका केही सरकारी कार्यालय र सवारी साधनमा तोडफोड गरेका छन् ।
बन्दको उल्लंघन गरेको भन्दै नेपाल सदभावना पार्टीका कार्यकर्ताहरुले वीरगन्ज सिर्सिया ड्राइपोर्टमा रहेको भन्सार कार्यालयको कर्मचारी ओसार्ने बा १ ग २२६० नम्बरको मिनी बस तोडफोड गरेका छन् ।
त्यस्तै बाराको कलैयामा बन्दकर्ताहरुले मालपोत कार्यालयमा तोडफोड गर्नुका साथै एउटा मोटरसाइकलमा आगजनी र दुइ वटा मोटरसाइकल तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै मधेश केन्द्रित दलका कार्यकर्ताहरुले मालपोत कार्यालयको ढोकामा तोडफोड गर्नुका साथै मालपोत कार्यालय परिसर भित्र रहेको मालपोत कार्यलयकै ना १ प १६९५ नम्बरको यमाहा कम्पनीको वाइबिएक्स मोटरसाइकलमा आगजनी गरेका हुन् ।
यस्तै भरतचोकमा जिल्ला विकास समितिको नम्बर खुल्न नसकेको एउटा र अर्को ना १० प ३५३५ नम्बरको गरी दुई वटा मोटरसाइकलमा तोडफोड गरेको बारा प्रहरीले जनाएको छ ।
बन्दले मध्य तराइको जनजीवन ३१ साउन विहानदेखि प्रभावित भएको छ ।
बन्दकर्ताले वीरगञ्ज भन्सार नाका साथै वीरगन्ज पथलैया औद्योगिक करीडोरका अधिकांश उद्योगहरु समेत बन्द गराएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज
