समाचारबुधबार, भाद्र २, २०७२
सीमाङ्कन मात्रै टुंगो लगाउन बाँकीः पौडेल
२ भदौमा बसेको शीर्ष नेताहरु सहभागी विशेष समितिको बैठक सीमाङ्कन बाहेक सबै विषयमा सहमति गरेर टुंगिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताएका छन् ।
“सीमाङ्कनका बारेमा केही नयाँ प्रस्तावहरु आएका छन्, पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने भएकोले भोली १० बजे बैठक फेरि बस्नेछ,” उपसभापति पौडेलले भने ।
सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चललाई एउटै प्रदेश र राजधानीलाई बेग्लै केन्द्रीय प्रदेश बनाएर जाने भन्ने विषयमा पनि बैठकमा कुरा उठेको उनले बताए ।
“अब धेरै ढिलो हुँदैन, आ–आफ्ना पार्टीभित्र छलफल गरेर भोली नै सबै कुरा टुंग्याउँछौं,” उनले भने ।
सीमाङ्कनको विषय जटिल भएको र विशेषज्ञ सम्मिलित आयोगलाई जिम्मा दिए राम्रो हुने भए पनि त्यसो गर्दा दलहरुले संघीयता नचाहेको सन्देश जाने भएकाले सीमाङकन समेत टुंगो लगाएर चाँडै संविधान जारी गर्ने उनको भनाई थियो ।
बैठकमा सहभागी एमाले उपमहासचिव विष्णु पौडेलले पनि भोली नै सहमति हुने दाबी गर्दै थपे, “केही थोरै विषय बाँकी छन्, भोली पनि भोली भन्दैनौं ।”
