समाचारबिहीबार, भाद्र ३, २०७२
आयोगद्वारा आन्दोलनका क्रममा संयम नगुमाउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले नयाँ संविधानमा आफ्ना मागहरु राख्दै भइरहेका आन्दोलनलाई शान्तिपूर्ण र संवेदनशील बनाउन आग्रह गरेको छ ।
आयोगले जुम्ला, सुर्खेत, सप्तरी, कपिलवस्तु, धनुषा, रुपन्देही, सिरहा, कैलाली, कन्चनपुरलगायतका जिल्लामा भइरहेको बन्दले जनजीवन कष्टकर बन्दै गएकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवक्ता मोहना अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बन्दको क्रममा भएका विरोध प्रदर्शन, झडप र भागदौडमा सुर्खेत र सप्तरीमा भएको मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।
प्रदर्शनकै क्रममा घाइते भएर अस्पतालमा उपचार गराइरहेकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा बन्दका क्रममा सवारी साधन नचलेपछि नागरिकलाई आवतजावतमा कठिनाइ भएको, दैनिक रोजगारीलगायत शैक्षिक संस्था, कलकारखाना बन्द हुँदा नागरिकको जनजीवन थप कष्टकर बन्दै गएकाले बन्दको विकल्प खोजी वार्ता र संवादबाट माग पुरा गर्न आग्रह गरिएको छ ।
बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समेत प्रहरीले कुटपिट गरेकाले यस्तो कार्य नगर्न आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
बन्दले नागरिकको स्वतन्त्रतापूर्वक हिँड्डुल तथा व्यापार, व्यवसाय गर्न पाउने अधिकार कुण्ठित भएको बताइएको छ ।
शान्तिपूर्ण रुपमा भएका धर्ना, जुलुसमा प्रहरीले अनुचित बल प्रयोग नगर्न तथा आफ्ना विरोधका सम्पूर्ण कार्यक्रमलाई शान्तिपूर्ण र संवेदनशील बनाउन प्रदर्शनरत पक्षलाई आयोगले आग्रह गरेको छ ।
रासस
