समाचारशुक्रबार, भाद्र ४, २०७२

मधेशी मोर्चाको निर्णय निकै खतरनाक: गृहमन्त्री

हिमालखबर

Bamdev-Gautamआन्दोलनमा मृत्यु भएबापत ५० लाख रुपैयाँ दिने भनेर मधेशी मोर्चाले गरेको निर्णय अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको जस्तै भएको गृहमन्त्री बामदेव गौतमले बताएका छन् ।

व्यवस्थापिका संसदलाई मधेशी मोर्चाको निर्णयबारे जानकारी गराउँदै गृहमन्त्री गौतमले मान्छे मर्न उक्साउने यस्तो निर्णय आतंककारी संगठनको भन्दा पनि खतरनाक भन्दै संविधान निर्माणमा सहभागी दलले नै यस्तो निर्णय गर्नु आपत्तिजनक भएको बताए।

मोर्चाको निर्णयमा सरकारको गम्भीर ध्यानकर्षण भएको र यसबारे संसदले कारवाही अगाडि बढाउनु पर्ने पनि उनले बताए ।

“आम जनतालाई शहादतका लागि प्रोत्साहित गर्ने कुरा कुनै पनि सभ्य लोकतान्त्रिक राज्यमा कल्पना गर्न सकिँदैन । यस्तो आह्वान कतिपय आतंककारी संगठनबाट हुने गरेको मात्र सुनिएको थियो ।”

गृहमन्त्री गौतमले भने, “तराईका केही जिल्लामा जातीय र सामाजिक सद्भाव भड्काउने काम भइरहेको छ । सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मी तथा व्यक्तिमाथि आक्रमण भइरहेको छ । यस्तो स्थिति अन्त्यका लागि संसद्को पनि सहयोगी भूमिका निर्वाहको अपेक्षा गरेको छु ।”

सरकार शान्ति सुरक्षा कायम गर्न प्रयत्नशील रहेको जनाउँदै उनले सार्वभौमसत्तामाथि आँच आउने काम नगर्न र नगराउन संसद्को पनि सहयोगी भूमिकाको अपेक्षा गरे ।

संसदमा सभासदहरुले मोर्चाको निर्णयबारे सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए ।

सभामुख नेम्वाङले गृहमन्त्रीको जवाफ र प्रतिवेदन आवश्यक अध्ययन गरी कार्वाही अघि बढाउन निर्देशन सहित राज्य व्यवस्था समितिमा पठाएका छन्।

यसअघि मधेशकेन्द्रित नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहको विवादास्पद अभिव्यक्तिको भिडियो राज्य व्यवस्था समितिमा पठाइएको थियो ।

भैरहवाको पछिल्लो स्थितिबारे जानकारी गराउँदै गौतमले उत्तेजनापूर्ण अवस्था नआओस् भनेर निषेधाज्ञा जारी गरिएको बताए ।

दोहोरो मुठभेडमा ‘घैँटे’ को मृत्यु
गृहमन्त्री गौतमले फरार अभियुक्त खोज्ने क्रममा सादा पोसाकमा रहेका प्रहरीले गुण्डानाइके कुमार श्रेष्ठ ‘घैँटे’ लाई सामाखुसीमा भेट्टाएपछि श्रेष्ठको समूहबाट प्रहरीमाथि आक्रमण भएको र आत्मरक्षाका लागि गोली चलाउँदै उनी घाइते भएको जानकारी दिए ।

झडपमा घाइते भएका प्रहरी र श्रेष्ठका सहयोगीको उपचार भइरहेको तथा घटनामा फरार भएको केहीको खोजी भइरहेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>