समाचारशनिबार, भाद्र ५, २०७२
टीकापुरमा कर्फ्यू हट्यो
अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच ४ भदौमा भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा गएराति ९ बजेदेखि लगाइएको कर्फ्यू आज बिहान ६ बजेबाट हटाइएको छ ।
कर्फ्यू हटाइएपछि टीकापुर नगर क्षेत्रको स्थिति बिहानदेखि सामान्य बनेको, बजार क्षेत्रमा पसल नखुले पनि सर्वसाधारण हिँडडुल गर्न थालेको इलाका प्रशासन कार्यालय टीकापुरका प्रशासकीय अधिकृत सुमन धितालले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म उत्तरमा पथरैया गाविस, दक्षिणमा धनसिंपुर गाविस, पूर्वमा कर्णाली नदी र पश्चिममा मुनुवा गाविसभित्रको टीकापुर नगर क्षेत्रमा सभा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।
अखण्ड पक्षधरले गरेको मोटरसाइकल र्यालीलाई थरुहट पक्षधरले टीकापुर नजिकको दुर्गौली क्षेत्रमा ४ भदौमा बाधा अवरोध गर्दै ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको थियो ।
झडप पछिको स्थिति नियन्त्रणमा लिने क्रममा तीन जना प्रहरी घाइते भएका थिए । झडपमा १४ अखण्ड पक्षधर पनि घाइते भएका थिए ।
मोटरसाइकल र्यालीमा अवरोध पुर्याइएपछि आक्रोशित भएका अखण्ड पक्षधरले झडपकै क्रममा बाटोमा पर्ने केही सर्वसाधारणका घरमा तोडफोड गरेका थिए ।
यस्तै थरुहट पक्षधरले र्यालीका केही मोटरसाइकल नियन्त्रणमा लिई तोडफोड गरेका थिए ।
थरुहटका कार्यकर्ताले रेडियो घोडाघोडी एफएमका पत्रकार नवराज खनालमाथि शुक्रबार आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका खनाल उपचारका लागि अस्पताल भर्ना भएका छन्।
दुई पक्षबीच भएको झडपको स्थितिले कैलाली जिल्लामा सुरक्षा चुनौती बढेपछि टीकापुर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
यसैबीच सामाजिक सद्भाव कायम राख्न पहल गर्ने प्रयासस्वरुप आज सर्वपक्षीय बैठक बोलाइएको प्रशासकीय अधिकृत धितालले जानकारी दिए ।
थरुहट पक्षले गरेको बन्द भने कैलालीमा यथावत रहेको छ ।
रासस
