समाचारआइतबार, भाद्र ६, २०७२
चार दल बैठक: असन्तुष्ट पक्षसँग वार्ता गरी मस्यौदा परिमार्जन गरिने

तस्वीर: रासस
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको बैठकले असन्तुष्ट पक्षसँग वार्ता गरी संविधानको मस्यौदालाई परिमार्जन गर्ने समझदारी गरेको छ ।
६ भदौमा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा संविधान जारी गर्ने अन्तिम समयसम्म धेरैभन्दा धेरै दललाई सहमतिमा ल्याई संशोधन गरेर भए पनि संविधान जारी गरिने तय भएको नेताहरुले जानकारी दिए ।
तीन प्रमुख दलहरुले ७ प्रदेशमा सहमति गरेपछि असन्तुष्ट बनेका फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले आन्दोलनकारीहरुको मागलाई सम्बोधन गर्न ८ प्रदेश बनाएर निकास दिनुपर्ने बताए ।
उनले आफ्नो माग सम्बोधन नभए संविधानसभाबाटै बाहिरिने भन्दै १६ बुँदे सहमतिकै आधारमा संविधान निर्माण हुनपर्ने जिकिर गरे ।
बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
एमाओवादीका नेता श्रेष्ठले सबै असन्तुष्ट पक्षको माग सम्बोधन हुने गरी अविलम्ब वार्ता र छलफल गरिने समझदारी भएको बताए ।
त्यस क्रममा आजै प्रधानमन्त्री कोइरालाले सार्वजनिक आह्वान गरी असन्तुष्ट सबै दल र पक्षलाई आन्दोलन छाडी वार्ता र सहमतिमा आउन आग्रह गर्ने पनि उनले जानकारी दिए ।
