समाचारमंगलबार, भाद्र ८, २०७२
थारुकै पक्षमा लडिरहेको म कसरी थारु विरोधी: देउवा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्षौदेखि मिलेर बसेका पहाडी र थारु समुदाय बीचको सदभाव बिथोल्न सुनयोजित षड्यन्त्र भइरहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।
८ भदौमा आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलनको आयोजना गरी उनले थारु अधिकारका लागि लडेको आफूलाई थारुविरोधी चित्रित गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरे ।
थारुहरुको भूमि अधिकार, भूमि बैंकको स्थापना, कमैया र बँधुवा मजदुरको मुक्तिका लागि आफूले योगदान गरेको बताउँदै अझै पनि थारु अधिकारका लागि आफू संघर्षरत रहेको देउवाले दाबी गरे ।
“म थारूहरूकै हक हितका लागि लडिरहेको छु। कमैया मुक्ति र भूमिहिन थारूहरूलाई १० कट्टा जग्गा मैले नै उपलब्ध गराएको हुँ म कसरी थारू विरोधी हुनसक्छु ?” उनले प्रश्न गरे।
यद्यपी कैलाली जिल्ला टुक्राउने मान्याताको आफू विरोधि भएको उनले स्पष्ट पारे । भने, ” जिल्ला तोड्नुहुन्न भनेर त मैले पहिले नै भनेको हुँ, अहिले पनि भन्छु ।”
उनले कैलाली घटनाको विरोध गर्दै निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
बाबुरामले गलत राजनीति गरे
पूर्वप्रधानमन्त्री देउवले अहिलेको स्थितिलाई एमाओवादीका नेता बाबुराम भट्टराईले भड्काएको आरोप समेत लगाए ।
देउवाले भने, “संवाद समितिको सभापति जस्तो गरिमामय पदमा रहेको मान्छेले तल्लो स्तरको लान्छना लगाएर स्थिति भड्काउन हुँदैन ।”
भट्टराईले ट्विटरमार्फत सामाजिक सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएको देउवाको भनाई थियो ।
“समितिको सभापति जस्तो मान्छेले बाहिर एउटा भित्र अर्को गर्न मिल्छ ? उहाँले झगडा निम्त्याउने कुरा गर्नुभएको छ। मलाई पनि तल्लो स्तरको लान्छना लगाएर अपमानित गर्नुभएको छ।”
पत्रकारलाई प्रतिक्रिया दिंदै उनले आफ्ना पार्टीका सभासद अमरेश सिंहले टीकापुरका आन्दोलनकारीलाई उक्साउने कुरा बोलेको पुष्टी भए कारवाही हुने बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका थारु समुदायका सभासदहरुको समेत उपस्थिति थियो ।
