समाचारशनिबार, भाद्र १९, २०७२
वीरगञ्जः प्रहरीको गोलीबाट मृत्यु भएकाहरुको सामूहिक अन्त्येष्टि

तस्वीर: सुरेश विडारी
वीरगन्जमा सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै भएको विरोध प्रदर्शनका क्रममा मृत्यु भएका पाँच जनाको आज १९ भदौंमा सामूहिक अन्त्येष्टि गरिदैछ ।
प्रहरीको गोली लागेर १५ भदौमा ज्यान गुमाएका पर्साको जगरनाथपुर मनियारीका दिलिप चौरसिया, भवानीपुरका धर्मराज सिंह, वीरगन्ज नगवाका सोहन साह कलवार, बाराको प्रसौनी–८ नौतन बहुअरीका भोला प्रसाद तेली र दिनानाथ साह गोढको सामूहिक अन्त्येष्टी गर्न लागिएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतालबाट निक्लेको शवयात्रा वीरगञ्ज नगरको परिक्रमा गरेर तिलावे नदी पु¥याई दाहसंस्कार गर्ने मधेशी मोर्चाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मृतक सबैलाइ शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्चका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेपछि शवको अन्त्येष्टी गर्न सहमत भएको मधेशी मोर्चाका नेता एंव संघीय समाजवादी फोरम नेपाल पर्साका संयोजक प्रदीप यादवले बताए ।
मृतकका आफन्त र मधेशी मोर्चाले राज्यले शहिद घोषणा नगरे सम्म शव नबुझने अडान लिएका कारण पाँच वटै शव पाँच दिन देखि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको थियो ।
-सुरेश बिडारी, वीरगञ्ज
