समाचारआइतबार, भाद्र २०, २०७२

दश सुरक्षाकर्मीसहित उनान्तीसको ज्यान गयोः गृहमन्त्री

हिमालखबर

Bamdev-Gautamसीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

व्यवस्थापिका–संसद्को २० भदौको बैठकमा मुलुकको शान्ति सुरक्षा र तराई–मधेशको स्थितिबारे सदनलाई जानकारी गराउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सुरक्षा कारबाहीमा १७ र बाटो हिँडेका दुई आन्दोलनकारी आक्रमणमा परी मारिएका बताए ।

उनले भने, “दुईवर्षे दूधे बालकलाई गोली हानेर मार्नेदेखि सुरक्षाकर्मीलाई ज्यूँदै आगो लगाएर मार्नेसम्मका नेपालको इतिहासमा यसअघि नभएका बर्बर एवम् अति अमानवीय आक्रमण भएका छन्, त्यसको जति निन्दा गरे पनि कम हुन्छ,” गृहमन्त्रीले भने ।

सुदूरपश्चिम, मध्यपश्चिम, मध्यमाञ्चल र पूर्वाञ्चलका तराई क्षेत्रका विभिन्न भागका साथै जुम्ला, कैलालीको टीकापुर, बर्दिया, रौतहट, बारा, पर्सा, सप्तरीलगायत धेरै स्थानमा आन्दोलन शान्तिपूर्ण भए पनि केही स्थानमा अराजक र हिंसात्मक घटना भएको उनले जानकारी दिए ।

सरकारी तथा सार्वजनिक सम्पत्ति तोडफोड र प्रहरी चौकीमा आक्रमण गर्ने, सरकारी कार्यालय, व्यक्ति र संस्थाका सवारी साधनमा आगजनीलगायत हिंसात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मीले बारम्बार सम्बद्ध पक्षलाई आग्रह गर्दा पनि भीड नियन्त्रण हुन नसक्दा बाध्य भई गोली चलाउनुपरेको गृहमन्त्री गौतमले स्पष्ट पारे ।

त्यसैगरी निषेधाज्ञा तोड्ने, प्रहरीलाई गोली हान्नेजस्ता गतिविधि बढेपछि शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीले बाध्यात्मक परिस्थितिमा आत्मरक्षा तथा जनताको जीउधनको सुरक्षाका लागि कारबाही गर्नुपरेको पनि उनले बताए ।

आन्दोलन अत्यन्त अराजक र हिंसात्मक बन्दै गएको र त्यस्ता गतिविधि हुन नदिन सरकार दृढ रहेको बताउँदै गौतमले शान्तिपूर्ण आन्दोलनबाट विमुख नहुन अनुरोध गरे ।

अहिलेको समस्या राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रुपमा नै गर्नुपर्छ भन्ने मान्यता सरकारको रहेको स्पष्ट गर्दै उनले सङ्घीयताका नाममा मुलुक दलदलमा फस्न लागेको हो कि भन्ने चिन्ता जनतामा परेको दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>