समाचारबुधबार, भाद्र २३, २०७२
भारदहमा प्रहरीको गोलीबाट एकको मृत्यु, कर्फ्यू लगाइयो
सप्तरीको भारदहमा २३ भदौ विहान प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ ।
विहानैदेखि प्रदर्शन गरिरहेका आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि सप्तरीको पोर्ताहा–२ का ६० वर्षीय रामकिसुन राउतको मृत्यु भएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भारदहमा विहानैदेखि प्रदर्शन भइरहेको र प्रहरीमाथि ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको बताए ।
घट्नापछि स्थानीय प्रशासनले भारदहमा दिउँसो २ बजेदेखि भोली २४ भदो विहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
पूर्वमा कंकालिनी मन्दिरदेखि ५ सय मिटर पूर्वसम्म, पश्चिममा टेम्पो स्टेन्डदेखि ५ सय मिटर पश्चिमसम्म, उत्तरमा पोर्ताहा हटियादेखि ५ सय मिटर उत्तरसम्म र दक्षिणमा सकरदही पुलदेखि तीन सय मिटर दक्षिणसम्मको क्षेत्रमा कफर्यू आदेश जारी गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । उनका अनुसार सुरक्षा समितिको बैठकले सप्तरी जिल्लाको पूर्व–पश्चिम राजमार्गमा आज रातिदेखि लागू हुने गरी निषेधाज्ञा समेत जारी गरिएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि पूर्वमा कोशी व्यारेजदेखि पश्चिममा बलान नदीसम्म निषेधाज्ञा जारी गरिएको पौडेलले बताए ।
यसअघि १ भदौमा भारदहमै प्रहरीको गोली लागि राजीव राउतको मृत्यु भएको थियो ।
श्रवणकुमार देव, सप्तरी
