समाचारबुधबार, भाद्र २३, २०७२

विराटनगरः प्रहरीलाई आगो लगाउन थालेपछि चौकी खाली गराइयो

हिमालखबर

विराटनगर भन्सार कार्यालय नजिक रहेका प्रहरीलाई आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जलाउने प्रयास गरेपछि सो स्थान भन्दा तीन किलोमिटर पूर्वमा रहेको बुधनगर प्रहरी चौकी खाली गराइएको छ ।

२०६३ सालको मधेश आन्दोलनमा बुधनगर प्रहरी चौकीका सई नरेशजंग कार्कीलाई आन्दोलनकारीले कार्यालय बाहिर निकालेर कुटपिट गरी मारेका थिए । पुनः त्यस्तै घटनाको हुन नदिन मोरङ प्रहरीले २३ भदौमा बुधनगर चौकीका प्रहरीलाई निकालेर खाली गराएको हो ।

प्रहरीले चौकी छाडेपछि आन्दोलनकारीले चौकीमा रहेको हावा महलमा आगो लगाएका छन् ।

बजार बन्द गराउंदै हिंडेका आन्दोलनकारीलाई २३ भदौ विहान विराटनगर–२० स्थित भट्टीमोडमा स्थानीयले प्रतिकार गरेपछि दुई जना घाइते भएका छन् ।

प्रतिकारपछि आक्रमक भएका आन्दोलनकारीले भन्सार कार्यालयमा रहेको प्रहरी पोष्टमा आगो लगाई दुई सहायक निरीक्षक र तीन जना सशस्त्र प्रहरी जवान गरी पाँच सुरक्षाकर्मीलाई पेट्रोल छर्केर आगो लगाउन खोजेपछि हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले बताए ।

“प्रहरीले फायर नगरेको भए पाँच जना प्रहरीलाई जलाएरै मार्ने थिए,” खरेलले भने ।

२०६३ सालको आन्दोलनमा सोही स्थानमा स्थानीयले प्रतिकार गर्दा एक आन्दोलनकारीको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका थिए ।

सशस्त्र प्रहरीले १० र नेपाल प्रहरीले ७ राउण्ड हवाई फायर गरेको उनले जानकारी दिए ।

सञ्चारकर्मीमाथि आक्रमण
भन्सार क्षेत्रमा भएको झडपको समाचार संकलन गर्न गएका दुई सञ्चारकर्मीलाई आन्दोलनकारीले कुटपिट गरी उनीहरु चढेको को ८ प २२३९ नम्बरको मोटरसाइकलमा आगो लगाएका छन् ।

कुटपिटबाट पत्रकारद्वय नविन कर्ण र जितेन्द्र ठाकुर सामान्य घाइते छन् ।

यस्तै संचारकर्मीहरु खिलानाथ ढकाल, दिनेश खड्का र अनुज रायामाझीलाई आन्दोलनकारीको घेराबाट निकालेर उद्धार गरिएको प्रहरीले जनाएको छ ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>