समाचारबुधबार, भाद्र २३, २०७२
भारदहमा कर्फ्यू आदेश जारी
प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सप्तरीको भारदहमा स्थानीय प्रशासनले कर्फ्यूआदेश जारी गरेको छ ।
भारदहमा आज, २३ भदौ विहान ११ः३० बजे प्रहरीको गोली लागेर पोर्ताहा–१ का रामकिसुन राउतको घट्नास्थलमै ज्यान गएको छ । राजमार्मागमा अवरोध गरेका प्रदर्शनकारी र अवरोध हटाउन प्रयास गरिरहेको प्रहरी बीच झडप हुँदा प्रहरीले हानेको गोली राउतमा छातीमा लागेको थियो ।
घट्नापछि स्थानीय प्रशासनले भारदहमा दिउँसो २ बजेदेखि भोली २४ भदो विहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
पूर्वमा कंकालिनी मन्दिरदेखि ५ सय मिटर पूर्वसम्म, पश्चिममा टेम्पो स्टेन्डदेखि ५ सय मिटर पश्चिमसम्म, उत्तरमा पोर्ताहा हटियादेखि ५ सय मिटर उत्तरसम्म र दक्षिणमा सकरदही पुलदेखि तीन सय मिटर दक्षिणसम्मको क्षेत्रमा कफर्यू आदेश जारी गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
उनका अनुसार सुरक्षा समितिको बैठकले सप्तरी जिल्लाको पूर्व–पश्चिम राजमार्गमा आज रातिदेखि लागू हुने गरी निषेधाज्ञा समेत जारी गरिएको छ ।
राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि पूर्वमा कोशी व्यारेजदेखि पश्चिममा बलान नदीसम्म निषेधाज्ञा जारी गरिएको पौडेलले बताए ।
श्रवणकुमार देव, राजविराज
