समाचारबुधबार, भाद्र २३, २०७२
जलेश्वरमा प्रहरीको गोलीबाट तीनजनाको मृत्यु,
महोत्तरीको सदुरमुकाम जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।
२३ भदौ दिउँसो जिल्ला प्रहरी कार्यालय महोत्तरीमा प्रदर्शनकारीको भीडले ढुंगामुढा गर्न थालेपछि नियन्त्रणमा लिन लाठी र अश्रुग्यास प्रहार गर्दा समेत नियन्त्रणमा नआएपछि गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय नजिकै रहेको जिल्ला न्यायाधीशको निवासमा पनि आगजनी गरेका छन् ।
महोत्तरीमा तनाव बढेपछि अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले भने, “प्रहरी कार्यालयमा अाक्रमण भएको छ, न्यायाधीशको क्वार्टरमा आक्रमण र आगजनी भएको छ । अहिले हामी मिटिङ्मा छौं ।”
गोली लागे लगत्तै अस्पताल पुर्याइएका तीन जना प्रदर्शनकारी जलेश्वर–७ का रोहन चौधरी, महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर–१४ का मुसइ कापरलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनाका गम्भीर घाइतेहरुलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको महोत्तरी अस्पतालका चिकित्सक सतिश साहले जानकारी दिए ।
