समाचारबुधबार, भाद्र २३, २०७२
तराई-मधेश: कहाँ के भयो ?
तीन सातादेखि मधेशमा जारी विरोध प्रदर्शन र बन्दका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । यद्यपी केही जिल्लामा भने स्थिति सहज पनि बन्दै गएको छ ।
उद्योग धन्दा चल्न नसक्दा, पसल नखुल्दा व्यापारीहरु मारमा परेका छन् भने सर्वसाधारणहरु उपभोग्य सामानको अभाव, अस्पतालसम्म पुग्ने सुविधा नहुँदा सकसपूर्ण अवस्थामा छन् ।
दैनिका काम गरेर गुजारा गर्नेहरुको त झन बेहाल छ । बालबालिकाहरु करिब एक महिनादेखि स्कुल जान नपाएपछि अभिभावकहरु पनि चिन्तित् भएका छन् । अस्पताल र औषधी पसलमा औषधीको अभाव हुँदै गएको छ ।
सप्तरीमा एकजनाको मृत्यु
आज, २३ भदौ विहानै सडकमा रुख तेस्र्याएर अवरोध खडा गरेका प्रदर्शनकारी र अवरोध हटाउन पुगेका प्रहरीबीच भएको झडपले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ ।
त्यसपछि पनि स्थिति तनावपूर्ण नै रहेपछि स्थानीय प्रशासनले दिउँसो २ बजेदेखि भोली विहान ६ बजेसम्मका लागि भारदह क्षेत्रमा कर्फ्यू लगाएको छ भने राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
सदरमुकाम राजविराज र रुपनी बजारमा विरोध प्रदर्शन भए पनि कुनै अप्रिय घटना घटेको छैन ।
सिरहामा हवाई फायर, १० घाइते
अहिलेसम्म बन्द र विरोध प्रदर्शन भइरहे पनि तुलनात्मक रुपमा शान्त रहेको सिरहाका लहान, गोलबजार, मिर्चैयामा आज दिउँसो केही उग्र प्रदर्शन भएका छन् ।
पत्रकार दीलिप सिंहका अनुसार प्रहरीको गोलीबाट दुई जना र चोटपटकबाट ८ जना घाइते भएका छन् ।
गोली लागेर लहान– १ का ४० वर्षीय बद्री राम, सोठियाइनका २५ वर्षीय मन्जै यादव, हकपाराका ३५ वर्षीय ब्रह्मानन्द यादव र नरहा बरछवा निवासी रमेश यादव घाइते भएका हुन् ।
घाइतेहरुको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले सडकमा अवरोध राख्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान अगाडि रहेको रुख काट्न थालेपछि प्रहरी र आन्दोनलकारी बीच झडप शुरु भएको थियो ।
पेट्रोल बम प्रहार
लहानमा प्रहरी र प्रदर्शनकारी बीच झडप भइरहेको बेला प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।
आन्दोलनकारीका तर्फबाट दुईवटा पेट्रोल बम प्रहार भए पनि क्षति भने नभएको प्रहरीले जनाएको छ ।
राजमार्गलाई निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्वपश्चिम राजमार्गको सिरहा सडकखण्ड र राजमार्गबाट सदरमुकाम जोड्ने सडकलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
पत्रकार दीलिप सिंहका अनुसार बन्दका बेला पनि मोटरसाइकललाई चल्न दिएका प्रदर्शनकारीले आज मोटरसाइकल रोकेका छन् भने भारदह घटनापछि राजमार्गका विभिन्न स्थानमा रुख ढलाएर अवरोध खडा गरेका छन् ।
यसैबीच रुख ढालेर सडक अवरोध गरेका प्रदर्शनकारी र प्रहरीबीच लहानको ट्राफिक चोकमा झडप हुँदा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । प्रहरीको गोलीबाट दुई जना घाइते भएको खबर प्राप्त भएको छ ।
धनुषा आज केही शान्त
धनुषामा हिजो, २२ भदौमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जन बढी प्रदर्शनकारी घाइते भएका थिए ।प्रदर्शनकारीहरुले हिजै नेपाली कांग्रेसको जिल्ला कार्यालय समेत जलाएका थिए ।
आज भने जनकपुरको भानु चोकमा शान्तपूर्ण प्रदर्शन बाहेक अन्य घटना नभएको पत्रकार घनश्याम मिश्रले जानकारी दिए ।
सदरमुकाम जनकपुरका केही निश्चित क्षेत्रमा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र कायमै छ भने मोर्चाले आह्वान गरेको बन्दका कारण जिल्ला २६ दिनदेखि ठप्प छ ।
महोत्तरीमा तीनको मृत्यु, कर्फ्यू लगाइयो
२६ दिनदेखिको आमहडतालमा सदरमुकाम जलेश्वर लगायत जिल्लाका विभिन्न भागमा लगातार जस्तो प्रदर्शन, झडप र आगजनीका घटना भइरहेका छन् ।
२३ भदौ दिउँसो सदरमुकाम जलेश्वरको दुर्गा चोक (पहिलेको महेन्द्र चोक)मा जम्मा भएका प्रदर्शनकारीले जिल्ला न्यायाधीशको निवासमा ढुंगामुढा र आगजनी गरे ।
प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठी प्रहार गर्दा पनि ढुंगामुढा गर्दै जिल्ला प्रहरी कार्यालयतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट १० जना घाइते भएका छन् ।
गम्भीर घाइते चार जनालाई जनकपुर अञ्चल अस्पतालमा पठाइएकोमा थप उपचारका लागि बेलुका अबेर उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
अहिले जलेश्वरलाई निषेधित क्षेत्र घोषणा साथै राति ८ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।
मोरङ, विराटनगरमा एक्कासी तनाव
तुलनात्मक रुपमा शान्त र खुकुलो बन्द रहेको मोरङ्को सदरमुकाम विराटनगर २३ भदौ विहान एक्कासी तनावग्रस्त बन्न पुग्यो ।
विराटनगर भन्सार कार्यालय नजिक रहेका प्रहरीलाई प्रदर्शनकारीले पेट्रोल प्रहार गरी जलाउने प्रयास गरेपछि सो स्थान भन्दा तीन किलोमिटर पूर्वमा रहेको बुधनगर प्रहरी चौकी खाली गराइएको छ ।
२०६३ सालको मधेश आन्दोलनमा बुधनगर प्रहरी चौकीका सई नरेशजंग कार्कीलाई आन्दोलनकारीले कार्यालय बाहिर निकालेर कुटपिट गरी मारेका थिए । पुनः त्यस्तै घटनाको हुन नदिन मोरङ प्रहरीले २३ भदौमा बुधनगर चौकीका प्रहरीलाई निकालेर खाली गराएको हो ।
प्रहरीले चौकी छाडेपछि आन्दोलनकारीले चौकीमा रहेको अतिथि बस्ने टहरोमा आगो लगाएका छन् ।
बजार बन्द गराउँदै हिंडेका आन्दोलनकारीलाई २३ भदौ विहान विराटनगर–२० स्थित भट्टीमोडमा स्थानीयले प्रतिकार गरेपछि दुई जना घाइते भएका छन् ।
प्रतिकारपछि आक्रमक भएका आन्दोलनकारीले भन्सार कार्यालयमा रहेको प्रहरी पोष्टमा आगो लगाई दुई सहायक निरीक्षक र तीन जना सशस्त्र प्रहरी जवान गरी पाँच सुरक्षाकर्मीलाई पेट्रोल प्रहार गरेपछि प्रहरीले हवाई फायर गरी भगाएको थियो ।
“प्रहरीले फायर नगरेको भए पाँच जना प्रहरीलाई जलाएरै मार्ने थिए,” प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले भने ।
२०६३ सालको आन्दोलनमा सोही स्थानमा स्थानीयले प्रतिकार गर्दा एक आन्दोलनकारीको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका थिए ।
सञ्चारकर्मीमाथि आक्रमण
भन्सार क्षेत्रमा भएको झडपको समाचार संकलन गर्न गएका दुई सञ्चारकर्मी नविन कर्ण र जितेन्द्र ठाकुरलाई आन्दोलनकारीले कुटपिट गरी उनीहरु चढेको को ८ प २२३९ नम्बरको मोटरसाइकलमा आगो लगाएका छन् ।
यस्तै संचारकर्मीहरु खिलानाथ ढकाल, दिनेश खड्का र अनुज रायामाझीलाई आन्दोलनकारीको घेराबाट निकालेर उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसअघि विराटनगर क्षेत्र तुलान्तमक रुपमा शान्त थियो ।
पर्सा कर्फ्यूमा छुट दिंदा केही सहज
पर्साको सदरमुकाम वीरगन्जमा निषेधाज्ञाको समय घटाउन थालेपछि जनजीवन क्रमशः सामान्य बन्दै
गएको छ ।
मोर्चाको जारी बन्दका बीच पनि कर्फ्यू हटाएका बेला बजारमा पसल र यातायातका साधन सुचारु भएका छन् भने किनमेल गर्ने सर्वसाधारणको पनि बजारमा घुइँचो लाग्ने गरेको छ ।
स्थानीय प्रशासनले वीरगन्जमा आज बिहान ९ देखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यू फुकुवा गरेको थियो ।
यसअघि १५ भदौमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको थियो ।
नवलपरासी
नवलपरासी सदरमुकाम परासी बजार तीन साता देखि बन्द नै छ । राजमार्ग क्षेत्रमा भने सवारी साधन सुचारु हुनुका साथै पसलहरु पनि खुलेका छन् ।
आज २३ भदौमा वर्दघाटमा आन्दोलनकारीहरु भेला भई सवारी साधनहरुमा ढुंगा प्रहार गरे पनि प्रहरीले केही बेरमै तितरवितर पारेको थियो ।
नवलपरासीमा मधेशी मोर्चाका साथै थरुहट संघर्ष समितिले समेत आमहडतालको घोषणा गरेको छ ।
निषेधित क्षेत्र थप
७ भदौदेखि सदरमुकाम र राजमार्गका केही क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले थप क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार भुताहा चोक देखि बर्दघाट नगरपालिका– ४ नम्बर वडाको टिसीएन चोक सम्म थप निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यस अघि जिल्ला प्रशासन कार्यालय पूर्वपश्चिम राजमार्गको भुताहा देखि सुनवल सम्मको १२ किलो क्षेत्र, भैरहवा भूमही सडक खण्डको बालगोबिन्द पेट्रोल पम्पको पश्चिम मञ्जरिया चोक हुदै रामग्राम नगरपालिकाको दक्षिण भेग बाहेक रामग्राम नगरपालिकाको सबै क्षेत्र, परासीको बुद्धचोक देखि सुनवल चोकसम्म २७ भदौसम्मका लागि घोषणा गरेको निषेधित क्षेत्र कायमै छ ।
बाँकेमा बन्द खुकुलो, सवारी साधन र पसल सञ्चालनमा
२७ साउनदेखि थरुहट संघर्ष समिति र मधेशी मोर्चाले आह्वान गरेको बन्द बाँकेमा खुकुलो भएको छ ।
२२ भदौदेखि यस क्षेत्रमा छोटो तथा लामो दुरीका सवारीसाधनहरु निर्वाध चलिरहेका छन् । सडकमा बन्दकर्ताहरु देखिएका छैनन् । नेपालगञ्ज, कोहलपुर लगायतका बजारहरु पनि पूर्णरुपमा खुला छन् ।
यातायात व्यवसायीहरुले स्वस्फूर्त रुपमा सवारीसाधनहरु सञ्चालनमा ल्याएका छन् । बन्द खुकुलो भएसँगै बाँकेका कोहलपुर र नेपालगञ्जका बजारहरुमा चहलपहल बढेको छ । तीज नजिकिँदै गएकाले बजारमा महिलाहरुको व्यापक चहलपहल बढेको छ ।
थरुहट अवध संघर्ष समिति बाँकेले ३१ भदौसम्म बन्द गर्ने जनाएपनि बन्द स्वस्फूर्त रुपमा खुकुलो भएको हो ।
मधेशी मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर नौवस्ता २ का करण सिंह मृत्यु भएपछि बन्द खुकुलो भएको हो ।
सिंहका हत्यारालाई कारबाहीको माग गर्दै निकालिएको ठूलो र्यालीमा आमहडतालको विरोधमा नारा लागेपछि पनि बन्दको प्रभाव कम हुँदै गएको हो ।
सिंहको हत्या गरेको अभियोगमा बाँके प्रहरीले शिवशंकर भाटविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
प्रहरीले जिल्ला अदालत बाँकेबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै सोही घटनामा संलग्न भई अन्य सवारीका साधनहरु तोडफोड गर्ने कार्यमा संलग्न धर्मेन्द्र बर्मा र प्रदीप गडरियाविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको बाँके प्रहरीले जनाएको छ ।
बर्दिया बन्द फिर्ता भएपछि सहज अवस्था
बर्दियामा २२ भदौदेखि बन्द फिर्ता भएपछि सडक–बजारमा चहलपहल बढेको छ । आन्दोलनरत थरुहट संघर्ष समितिले २२ देखि २६ भदौसम्म बन्द फिर्ता लिएको हो ।
कैलाली केही सहज
कैलालीको टीकापुरमा लगाइएको कर्फ्यूमा केही समय हटाउँदा यहाँको वातावरण केही सहज बन्दै गएको छ ।
यद्यपी दुई समुदायबीच अन्तरक्रिया नहुँदा पहाडी र थारु समुदायबीच संशय भने कायमै छ । लगातारको बन्दले सदरमुकाम धनगढी क्षेत्र अस्तव्यस्त बनेको छ ।
