समाचारबिहीबार, भाद्र २४, २०७२
तीन दलसँग वार्ता नगर्ने मोर्चाको निर्णय
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको भैरहवामा सम्पन्न बैठकले तीन दलले गरेको अपील अनुसार वार्तामा सहभागी नहुने निर्णय गरेको छ ।
२३ भदौ राति नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका प्रमुखहरुले आन्दोलनरत सबै दलहरुलाई वार्तामा आउन संयुक्त अपिल गरेपछि मोर्चाका नेताहरुले वार्ताको वातावरण नबनेको भन्दै आन्दोलन जारी नै राख्ने निर्णय गरेका हुन् ।
भैरहवामा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि वातावरण बनाउन संविधान निर्माणको प्रक्रिया रोक्नु पर्ने, तराईका विभिन्न जिल्लामा खटिएको सेना फिर्ता हुनुपर्ने र विगतमा भएका सहमतिहरु कार्यान्वयन हुनुपर्ने पुरानै अडान दोहोर्याए ।
मोर्चाको बैठकमा संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएका अन्य दलहरुसँग सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो ।
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको मोर्चासँग सहकार्य गर्ने पनि मोर्चाले निर्णय गरेको छ ।
“गच्छदारजी र आन्दोलनमा रहेका अन्य पक्षहरुसँग सहकार्य गर्न हामी तयार छौं,” यादवले भने ।
