समाचारबिहीबार, भाद्र २४, २०७२
लिम्बुवानको बन्दले पूर्वको जनजीवन प्रभावित

फिदिम
लिम्वुवान संघर्ष समितिले आह्वान गरेको आम हड्तालले पाँचथर सहित पूर्वी पहाढका जिल्लाहरु प्रभावित भएका छन् ।
बन्दका कारण पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुम जिल्लाका सदरमुकाम सहितका बजार बन्द छन् भने यातायात र शैक्षिक सस्था पनि ठप्प भएका छन ।
पाँचथरमा बन्दकर्ताले मोटरसाइकल पनि चल्न दिएका छैनन । अरुण नदी पूर्वका ९ जिल्लालाई लिम्वुवान प्रदेश घोषणा गर्नुृपर्ने मागसहित आह्वान गरिएको बन्दले जनजीवन प्रभावित भएपनि अप्रिय घट्ना भने नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
झापा पनि प्रभावित

दमक
बन्दका कारण झापाको जनजीवन पनि प्रभावित भएको छ ।
झापामा तीनचक्के रिक्सा बाहेक यातायातका अन्य साधन चलेका छैनन् ।
लिम्बुवान राज्य मागगर्दै भदौ महिनामा मात्रै अहिलेसम्म पूर्वका नौ जिल्ला चारदिन बन्द भइसकेका छन् ।
विद्यार्थी सडकमा
संविधान निर्माणका चरणमा विभिन्न माग राख्दै राजनीतिक दल र जातीय संस्थाहरुले विद्यालय वन्द गराउन थालेपछि पाँचथरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी पनि विहानैदेखि सडकमा उत्रेका छन् ।
विद्यालयमा पठन पाठन नभएपछि भेला भएका फिदिम उच्च मावि र कञ्चनजंघा एकेडेमीका विद्यार्थीले वजार परिक्रमा गर्दै पठन पाठनको वातावरण वनाउन आग्रह गर्दै जिल्ला शिक्षा कार्यालय घेराउ गरे ।
विद्यालय पोशाकमा सडकमा उत्रेका विद्यार्थीले ‘राजनीतिक स्वार्थका लागि विद्यालय वन्द नगरौं,’ ‘विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गरौं,’ ‘विद्यालयमा वन्द हड्ताल अन्त्य गरौं,’ र ‘राजनिती गर्ने शिक्षकलाई कार्वाही गरौ,’ लगायतका नारा छातीमा टाँसेर जुलुस निकालेका थिए ।

जिल्ला शिक्षा कार्यालय, पाँचथर पुगेका विद्यार्थी ।
विद्यार्थीहरुले अघिल्लो दिनपनि जुलुस सहित नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा पुगी पठन पाठनकोे वातावरणका लागि पहल गर्न ध्यानाकर्षण गराँउदै ज्ञापन पत्र वुझाएका थिए ।
जिल्ला बालक्लव सञ्जालको संयोजनमा विद्यालय सुचारु गर्नुपर्ने माग गर्दै सडकमा निस्केका विद्यार्थीले गत वर्ष विद्यालय शान्ति क्षेत्र घोषणा गरेका दलहरु आफैंले गरेको निर्णय उल्टाँउदै यसवर्ष पनि पठनपाठन ठप्प पारेको भन्दै विरोध जनाएका छन् ।
पछिल्लो पटक पाँचथर सहित पूर्वी पहाडमा लिम्बुवान संघर्ष समिति, आदिवासी जनजाति महासंघ र संघीय लिम्वुवान पार्टी लगायतका समूहले आह्वान गरेका वन्दमा विद्यालय पनि वन्द गराइएको छ ।
संघीय लिम्वुवान पार्टी नेपालका केन्द्रीय सदस्य लावाहाङ चेम्जोङले केन्द्रीय समितिमा विद्यालय वन्द गर्ने विषयमा निर्णय नभए पनि जिल्ला तहका नेता कार्यकर्ताबीच मतभेद हुँदा विद्यालय खुलाउन नसकेको वताए ।
लक्ष्मी गौतम, पाँचथर र गोपाल गडतौला, झापा
