समाचारशुक्रबार, भाद्र २५, २०७२
महोत्तरीमा सशस्त्रका असईको हत्या
उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर लैजाँदै गरिएका घाइते सशस्त्र प्रहरीका असई थमनबहादुर बिकको महोत्तरीको महोत्तरी गाविसमा आन्दोलनकारीले हत्या गरेका छन् ।
विहान सादा पोशाकमा आफ्नै कामले जलेश्वरमा निक्लिएका असई बिकलाई आन्दोलनकारीले कुटेर गम्भीर घाइते बनाएका थिए । घाइते बिकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएकोमा स्थिति चिन्ताजनक हुँदै गएपछि थप उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर लैजाने क्रममा बाटोमा हत्या भएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिए ।
‘रेडक्रस जस्तो संस्थाको एम्बुलेन्समा राखेर लैजाँदै गरिएका घाइतेको हत्या गर्ने आतंककारी काम भएको छ, एम्बुलेन्स पनि आगो लगाइएको छ,’ प्रजिअ काफ्लेले भने ।
आन्दोलनकारीले जलेश्वरबाट जनकपुरजाने सहायक सडकमा एम्बुलेन्स रोकेर घाइते असईलाई निकालेर कुटीकुटी हत्या गरेका छन् भने रेडक्रसको एम्बुलेन्स जलाइदिएका छन् ।
