समाचारशनिबार, भाद्र २६, २०७२
झापामा अपहरणकारी गिरोह पक्राउ

तस्वीर: गोपाल गडतौला
प्रहरीले झापाको शनिअर्जुन नगरपालिका– ७ मा भारतबाट अपहरण गरी ल्याइएका तिन बन्धकलाई मुक्त गराई पाँच अपहरणकारीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका पाँच अपहरणकारीमध्ये दुई भारतीय हुन् । पक्राउ परेका अपहरणकारीहरुमा सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका ओमकुमार कहार (२९), सप्तरी कविलासा– २ का सन्तोषकुमार चौधरी (३२), बनौली– १ सप्तरीका सुशीलकुमार चौधरी (३६), भारत गोरखपुरका सुनिलकुमार सिंह (३६) र पञ्जाबको गरुदासपुरका रञ्जित सिंह (२९) छन् ।
उनीहरुले भारत राजस्थानका कमलेश भाटी (३२), राजस्थानकै छोटी खट्टु (३६) र गुजरातका जिगिर अशोकभाई पमार (२६) लाई अष्ट्रेलियाको एक कम्पनीमा जागिर लगाईदिने प्रलोभन देखाउँदै नेपाल ल्याएर १६ भदौदेखि बन्धक बनाइ राखेका थिए ।
अपहरणकारीहरुले एकमहिना अघिदेखि मासिक सातहजार भाडामा लिएको घरमा उनीहरुलाई बन्दी बनाएको प्रहरीले जनाएको छ ।
अपहरणकारीहरुले विदेशी नम्बर डिस्प्ले हुने गरी अभिभावकहरुलाई फोन गरी फिरौती समेत माग गरेको बताइएको छ ।
भारतको दिल्लीमा दीपक सोलंकी र बिक्रम सेठ नामका ब्यक्तिले अष्ट्रेलिया जाने व्यक्तिहरु संकलन गरि गिरोहका हिन्दुसिंह यादव र अमित सिंह नामका व्यक्ति मार्फत यि पाँच अपहरणकारीलाई जिम्मा लगाएको पनि खुलेको प्रहरीले जनाएको छ ।
अपहरणका नाइके सुनिल कुमार सिंह २०६० सालमा बिराटनगरका ब्यापारी तुलसीराम अग्रवालको अपहरणमा समेत संलग्न व्यक्ति हुन ।
प्रहरीले सिंह बिहारको सारसाका पप्पु यादबको समूहमा रहेको अनुसन्धानबाट खुलेको जनाएको छ ।
अनुसन्धानको क्रममा यादवले नेपालको केन्द्रीय कारागार काठमाडौं नक्खु, जिल्ला कारागारहरु मोरङ, रामेछाप र पाल्पा कारागार धाएको साथै त्यस क्रममा २४लाख ६९हजार पाँचसय खर्च गरेको समेत खुलेको छ ।
सो कुख्यात गिरोहले यसअघि १६ जना भारतीयलाई झापा विर्तामोडको एक घरमाा बन्धक बनाई फिरौती असुली गरेको समेत अनुसन्धानमा संलग्न एक अधिकारीले हिमालखबरलाई बताए ।
पक्राउ परेका दुवै भारतीय अपहरणकारी नेपाली युवतीसँग विहेगरि काठमाडौंमा बस्दै आएका थिए ।
प्रहरीले उनीहरुका साथबाट अपहरणमा प्रयोग भएको को १ च ८७१७ महेन्द्रा जिप, १९थान गोली सहित एकथान स्वचालित अमेरिकी पिस्तोल, एकथान खुकुरी, दुईवटा लाठी, १५वटा मोबाइल सेट, ६वटा एटिएम कार्ड, बिभिन्न भारतीय संघसंस्थाका र प्रेस परिचयपत्र, भारतको आयकर कार्ड, नेपाली २७ वटा र भारतीय नौ वटा सिमकार्ड, दुईवटा नक्कली ड्राइभिङ लाइसेन्स, बा ४३ प ९३४४ नम्बरको मोटरसाईकल, नक्कली कपाल, सुनका दुईवटा र हिराको एउटा औंठी, सुनको सिक्रि र बाला एकएक थान, सुबिसुको वाईफाई सेट एकथान, तिनवटा भारतीय राहदानी र चारवटा बैंकका चेक बरामद गरेको छ ।
प्रहरीले अपहरणकारीको यो गिरोह पक्राउ पर्नुलाई उल्लेख्य सफलता बताएको छ ।
गोपाल गडतौला, झापा
