समाचारआइतबार, भाद्र २७, २०७२
प्रदर्शनकारीको गोली लागेर एक प्रहरी घाइते
सिरहाको मिर्चैयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर २६ भदौ राति सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।
सशस्त्र प्रहरी गण दन्तकालीका प्रहरी जवान विपिन राई आन्दोलनकारीले प्रहार गरेको गोली लागि घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
दाहिने पाखुरामा गोली लागेका राईको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचार गराइएको प्रहरीले बताएको छ ।
प्राप्त जानकारीअनुसार, बन्दकर्ताहरुले मिर्चैया–५ स्थित राजमार्गमा रुख ढालेर सडक अवरुद्ध पारेपछि सडक खुलाउन पुगेको सशस्त्र प्रहरीको टोलीमाथि लुकेर बसेको समूहले गोली चलाउँदा राई घाइते भएका हुन् ।
घुसपैठ
सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर बिकेले अवरोध हटाउन पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीमाथि लुकेर बसेको समूहले दुई राउण्ड फायर गरेको र सशस्त्र प्रहरीका जवान राईको पाखुरामा गोली लागेको पुष्टी गरे ।
त्यसक्रममा प्रहरीका तर्फबाट पनि चार राउण्ड फायर भएको उनले बताए ।
उनले आन्दोलनमा घुसपैठ भएपछि हिंसात्मक प्रदर्शन हुन थालेको स्वयम् मधेशी मोर्चाका जिल्ला नेताहरुले पनि स्वीकार गरेको बताए ।
“शान्तिपूर्ण प्रदर्शन भइरहेको सिरहामा २३ भदौदेखि एक्कासी हिंसात्मक गतिविधि हुन पुग्यो, नीति विपरित आन्दोलन हिंसात्मक बनाउन घुसपैठ भएको नेताहरुले पनि बताउनु भएको छ, ” प्रजिअ बिकेले भने, “हिंसात्मक प्रदर्शन हुन थालेपछि राजमार्ग क्षेत्रलाई दंगाग्रस्त घोषणा गरिएको हो ।”
आज दिउँसो तीन बजे आन्दोलनरत दलका नेताहरुसँग यसैबारे छलफल हुने जानकारी गराउँदै उनले सिरहामा कर्फ्यू नलगाइएको समेत प्रष्ट पारे ।
