समाचारआइतबार, आश्विन ३, २०७२
लमजुङमा संविधानको स्वागत, विरोध गर्ने ६ पक्राउ

बेसी सहरमा संविधानको स्वागतमा निकालिएको र्याली ।
नयाँ संविधानको स्वागतमा लमजुङमा आज विहान सर्वपक्षीय र्याली निकालिएको छ । त्यस्तै संविधानको विरोध गर्ने ६ जना पक्राउ परेका छन् ।
लमजुङ उद्योग वाणिज्य संघको संयोजनमा निकालिएको र्याली बेसीशहरको मनाङ्गे चौताराबाट शेराचोकमा पुगेर टुङ्गिएको थियो ।
र्यालीको समापन गर्दै संघका अध्यक्ष रामकुमार श्रेष्ठले नयाँ संविधानले खुशी ल्याएको बताए ।
त्यस्तै संविधानको स्वागतमा लमजुङको चिती, नौथर, समिभञ्ज्याङ लगायतका गाउँहरुमा समेत साँझ दिपावलीका साथ विविध कार्यक्रम भएको खबर प्राप्त भएको छ ।
सदरमुकाम बेसीशहरमा आज साँझ ६ बजे बेसीशहर युथ सोसाीटीको अगुवाइमा शेरा चोक, भीमसेन स्थानमा लमजुङ मस्र्याङदी युवा क्लव, र ७ बजे त्रिवेणी युवा क्लवको अगुवाइमा दीपावली गरेर संविधानको स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी ४ असोजमा उद्योग वाणिज्य संघको संयोजनमा झाँकी, पञ्चेबाजा सहितको ¥यालीले बजार परिक्रमा गरी सभा गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने लगायतका कार्यक्रम तय भएका छन् ।

पक्राउ परेका नेताहरु
विरोध गर्ने ६ जना पक्राउ
यसैबीच, लमजुङमा संविधानको विरोध गर्ने ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा वैद्य माओवादीका केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला ईन्चार्ज मोहनहरी पौडेल, जिल्ला सदस्य सतिमाया तामाङ, विप्लव माओवादीका जिल्ला सेक्रेटरी अविरल न्यौपाने, जिल्ला सदस्य सुजन अधिकारी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य खेमजंग गुरुङ र भरत गुरुङ पक्राउ परेका हुन् ।
संविधानको विरोधमा बन्द हड्ताल लगायतका कार्य गर्न खोजेको भन्दै उनिहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
उनिहरुले संविधानको विरोधमा बन्द हड्ताल, कालो झण्डा देखाउने लगायतका कार्यक्रम राखेका थिए ।
संविधानको स्वागतमा सर्वपक्षीय र्यालीपछि बेसीशहर बजार खुलेको छ भने सवारी साधन सुचारु छन् ।
