समाचारसोमबार, आश्विन ११, २०७२
चीनतर्फबाट नाका खोल्न चिनियाँ राजदूतलाई दाहालको आग्रह
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले चीनतर्फको नाका खोल्न नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई आग्रह गरेका छन्।
राजदूत ऊलाई ११ असोजमा आफ्नै निवास लाजिम्पाटमा बोलाएर अध्यक्ष दाहालले संविधान निर्माणपछि मुलुकमा विषम अवस्था उत्पन्न भएकाले नेपाल चीन नाका खोल्नका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेका हुन् ।
नेपालीको महान् चाड दशैं र दीपावली नजिक आएकाले त्यसलाई मध्यनजर गरेर नाका खोल्न अध्यक्ष दाहालले आग्रह गरेको उनको प्रमुख स्वकीय सचिव चुडामणि खड्काले बताए ।
अध्यक्ष दाहालको आग्रहमा राजदूत ऊले नेपाललाई हर प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको बताए । नेपालका राजनीतिक दल, नेपाली जनताले गरेको निर्णयको पक्षमा चीन सरकार रहेको राजदूतको भनाइ थियो ।
१२ वैशाखमा गएको भूकम्पका कारण नेपाल–चीन नाकातर्फको तातोपानी कोदारी नाका र रसुवा केरुङ नाका अवरुद्ध छ । ती दुई नाका अवरुद्ध भएका कारण नेपालमा समस्या उत्पन्न भएको छ । रासस
