समाचारसोमबार, मंसिर ४, २०६९
परिणामबिहिन बैठकको शृंखला जारी
यसै क्रममा बजेट र सहमतिको सरकार गठनलगायतका विषयमा सहमति जुटाउनका लागि ४ मंसीर साँझ बसेको तीन प्रमुख राजनीतिक दलको बैठक पनि बिना निष्कर्ष सकियो ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा कुनै पनि विषयमा सहमति जुट्न नसकेको कोइरालाले जानकारी दिए ।
उनले बजेट, वर्तमान राजनीतिक सङ्कट, राष्ट्रिय सहमतिको सरकारका विषयमा कुराकानी भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको जानकारी गराउँदै पुनः बैठक बस्ने सहमति भएको बताए ।
छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई बजेट प्रस्तुत गर्नका लागि सहज वातावरण बनाइदिन विपक्षी दलहरूलाई आग्रह गरेका थिए भने कांग्रेस र एमालेले वर्तमान सरकार नहट्दासम्म कुनै सहमति नहुने वताएका थिए ।
छलफलपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सबै विषयमा छलफल भएपनि कुनै निकास ननिस्केको र छलफललाई जारी राख्ने निर्णय भएको जानकारी दिए ।
सहमतिका लागि एमाओवादी र सरकारकै तर्फबाट विशेष पहल हुनुपर्नेमा सो नभएको भन्दै अध्यक्ष खनालले वर्तमान सरकार रहेसम्म कुनै पनि हालतमा सहमति नहुने बताए ।
बैठकपछि एमाओवादी अध्यक्ष दाहालले भने कुनै पनि प्रतिक्रिया दिन चाहेनन् ।
