समाचारमंगलबार, आश्विन २६, २०७२

‘देशद्रोही भन्दा चित्त दुख्दैन’

सइन्द्र राई

Rss_Images_1444727113884_RoS-Ktm-Loktantrik madeshiप्रधानमन्त्री निर्वाचनमा मतदान गर्न काठमाडौं आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले पत्रकार सम्मेलन गर्दै आन्दोलन यथावत रहेको बताएका छन् ।

संविधानसभाबाट बनेको संविधान बहिष्कार गर्दै ५९ औं दिनदेखि तराई–मधेशमा आन्दोलनरत मोर्चाका सांसद्हरु प्रधानमन्त्री निर्वाचनमा मतदान गर्न आएपछि आन्दोलनबारे उठेको प्रश्नको जवाफ दिन बुद्धनगरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा बोल्दै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संविधानमा रहेको त्रुटी नहटेसम्म आन्दोलन जारी रहने बताए । उनले भने, “आन्दोलनबारे सत्ताले सँधै विभिन्न आरोप लगाउँछन्, यतातिर ध्यान दिनु आवश्यक हुँदैन ।”

अध्यक्ष ठाकुरले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली पनि कुनै बेलाको देशद्रोही रहेको बताए । ठाकुरले भने, “झापा विद्रोह गर्दा उहाँलाई देशद्रोही घोषणा गरिएको थियो । माओवादी विद्रोहमा प्रचण्डलाई पनि यस्तै दोष दिइएयो । अव उहाँहरुलाई के भन्ने ?”

“मधेश आन्दोलनमा अहिले हामीले त्यस्तै आरोप खेपिरहेका छौं, परिवर्तनकारीहरुलाई सँधै सत्ताले देशद्रोही नै देख्छ”, ठाकुरले भने ।

भारतीय जनताको नैतिक समर्थन
ठाकुरले मधेश आन्दोलनमा भारतीय जनताको नैतिक समर्थन रहेको बताए । ठाकुरले भने, “काठमाडौंको सत्ताले दिल्लीसँग सम्पर्क गर्न सक्छ, हामी सक्दैनौं । तर, त्यहाँका जनताले साथ दिएका छन् ।”

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले नै आन्दोलन गरिरहेको बताए । यादवले भने, “आन्दोलन जनताले नै गरिरहेका छन्, कसैको इसारामा मतदान गर्न आएका होइनौं ।”

अध्यक्ष यादवले नाकामा धर्ना दिने र राजमार्ग केन्द्रित आन्दोलन नरोकिएको बताए । “हामीले नाका खुल्ला गरेका छैनौं, प्रहरी र सेनाले बन्दूकको बलमा खुकुलो बनाएको सुनेको छु”, उनले भने ।

सर्वाेच्च अदालतको पालना गर्न, अनुपस्थित र तटस्थ रहन नपाउने संविधानको व्यवस्था अनुसार संसदमा मतदान गर्न काठमाडौं आएको तर्क गर्दै मोर्चाले अझै संविधान स्वीकार नगरेको बतायो ।

विजय सँधै सत्तामा
पहिलो संविधानसभा निर्वाचनबाट चौथो दलको हैसियत बनाएको मधेशी जनाधिकार फोरम नेपाल फुटेर बनेको फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार कहिल्यै आन्दोलनमा जान नसक्ने नेता भएको आरोप मोर्चाका नेताहरुले लगाए ।

“सत्ता भन्नासाथ कुदिहाल्ने मान्छेले आन्दालन गर्न सक्दैन, उहाँ कहिल्यै पनि आन्दोलनमा हुनुहुन्नथ्यो”, यादवले भने । उनले झापा विद्रोह, सशस्त्र आन्दोलन र राजावादीको पृष्ठभूमीबीचको गठबन्धन विचारहिन भएको बताए ।

दशैंमा खुकुलो
जारी आन्दोलन यथावत रहेपनि दशैं र तिहारमा आन्दोलन केही खुकुलो बन्न सक्ने मोर्चाका नेताहरुले बताए ।

पत्रकारहरुको प्रश्नमा नेताहरुले आन्दोलन खुकुलो हुनसक्ने संकेत दिए । अध्यक्ष ठाकुरले भने, “जनताको माग भए आन्दोलनको रुप फेरिन सक्छ ।”

पत्रकार सम्मेलनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने अनुपस्थित थिए । उनको पार्टीबाट सह–अध्यक्ष लक्ष्मणलाल कर्ण काठमाडौंमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>