समाचारमंगलबार, मंसिर ५, २०६९
साठी हजार गोर्खा सैनिकको सामूहिक काजकिरिया शुरू
स्याङ्जाको फेदीखोला–८, साल्मेडाँडामा ५ मंसिरदेखि सामूहिक काजकिरिया शुरू गरिएको हो । भूतपूर्व सैनिक सङ्घ (गेसो)को संयोजन तथा गोरखा स्मारक ट्रष्टको आयोजनामा सामूहिक काजकिरिया तथा पितृ उद्धार कार्यक्रम सुरू गरिएको गेसोका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
ब्रिटिस पक्षको युद्धमा होमिएका गोर्खा सैनिकहरूको अझै पनि आ–आफ्नो संस्कारअनुसार काजकिरियासमेत नभएकाले आत्मा शान्ति तथा पितृ उद्धारका लागि आयोजना गरिएको काजकिरिया अभियानमा गुरुङ, मगर, राई, लिम्बु, पुन, याक्खा, सुनुवार, शेर्पा, तामाङ, दुरा, भुजेल, नेवार, ठकुरी, थकाली, दलित, बाहुन, क्षेत्री, ह्योल्मोलगायतका १८ जातिका समूहले आ–आफ्ना संस्कारअनुसार किरिया गर्ने छन् ।
सामूहिक काजकिरिया अभियानको वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गोरखा सैनिकको अर्धकदको प्रतिमामा पूmलमालासहित श्रद्धाञ्जलि अर्पण गरेर सुरुवात गरेका हुन । सामूहिक काजकिरिया समापनपछि १२ जना धर्मगुरू र १२ कन्याबाट समाधिस्थलको शिलान्यास गरिने गेसोले जनाएको छ । रासस
