समाचारबिहीबार, मंसिर ७, २०६९
सरकारविरुद्ध नेविसंघको प्रदर्शन
पुतलीसडकस्थित शङ्करदेव क्याम्पसबाट शुरु भएको जुलुस पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै भृकुटीमण्डपको विश्वभाषा क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो ।
विरोध र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवानेता किशोरसिंह राठौरले सरकारले मुलुकमा सर्वसत्तावाद र निरङ्कुशता लाद्न खाजेको आरोप लगाए ।
सरकारको गैरजिम्मेवार कदमका विरुद्ध सशक्त आन्दोलनको विकल्प नभएको भन्दै उनले एकातिर प्रतिपक्षी दलहरुसँग वार्ताको नाटक गर्ने र अर्कोतिर आफूखुशी निर्वाचनको घोषणा गर्ने सत्तारुढ दलको काम विपक्षीलाई झुक्याउने प्रपञ्च मात्र भएको बताए ।
कोणसभामा नेविसंघमा अध्यक्ष रञ्जित कर्णले विभिन्न चरणमा विद्यार्थीसँग भएका सहमतिलाई कार्यान्वयन नगर्ने सरकारले अहिले मुलुकलाई खाडलमा जाक्न खोजेको आरोप लगाए ।
संघले राष्ट्रिय सहमति सरकार निर्माणका लागि वातावरण बनाउन सरकारलाई अविलम्ब राजीनामा दिन आग्रह गर्दै थप आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यक्रम अनुसार मङ्सिर ८ गते शान्तिबाटिकाबाट सिटी जुलुस निकालिने छ भने १० गते सबै सरकारी क्याम्पसमा कालो झन्डा गाडिने छ । मङ्सिर ११ गते सबै सरोकारवाला पक्षसँग छलफल गरी थप आन्दोलनका कार्यक्रम तय गरिने नेबिसंघले बताएको छ ।
