समाचारबिहीबार, मंसिर ७, २०६९
पूर्वरक्षासचिव अर्याल भ्रष्टाचारी ठहर
विशेष अदालतका न्यायाधीश गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अर्यालले रु ६६ लाख दुई हजार भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैदको फैसला सुनाएको हो ।
यसैगरी अदालतले अर्यालले भ्रष्टाचार गरेको रकम बराबर बिगो जरिवाना असुल्नसमेत आदेश दिएको विशेष अदालतका रजिष्ट्रार धिरबहादुर चन्दले जानकारी दिए ।
अर्यालले रु दुई करोड ६० लाख ८१ हजार भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले१० मंसीर २०६० मा अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर हदम्याद नाघेको भन्दै विशेषले २०६४ सालमा अर्यालको मुद्दा खारेज गरेको थियो ।
विशेषको फैसलाविरुद्ध अख्तियारले पुनरावलोकनको माग गरेपछि गत वर्ष सर्वोच्च अदालतले पुनः सुनुवाई गर्न आदेश दिएको थियो ।
त्यसैगरी विशेष अदालतले प्रमाणको भार पूरै प्रतिवादीमा हुने, बकसपत्रबाट प्राप्त सम्पत्ति आयस्रोतबाटै खरीद गरेको मानिने, कम मूल्यमा लिखत गरी खरीद गरेको जग्गालाई व्यवहारमा बढी मूल्य तिरेको बताउन नमिल्ने र विदेश भ्रमणको आम्दानीमा भत्ताको ७० प्रतिशतलाई मात्रै मान्यता दिइने र स्रोत बैध हुनुपर्ने समेत आदेशमा भनेको छ ।
