समाचारबुधबार, मंसिर २, २०७२
सत्तारुढ दल र मोर्चाबीचको वार्ता निष्कर्ष विहिन
सत्तारुढ दल नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
आजको वार्तालाई निर्णायक बनाउने बताइए पनि एक घण्टा चलेको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो ।
मधेशी मोर्चाका नेता उपेन्द्र यादवले यसअघिका वार्ताहरुमा झैं सरकारी पक्षले ठोस प्रस्ताव नल्याएको हुँदा वार्ता अघि बढ्न नसकेको आरोप लगाए ।
उनले भने, “चिया र विस्कुट खाने काम मात्रै भयो । अब ठोस प्रस्ताव लिएर मात्रै वार्तामा बोलाउनु होला भनेका छौं ।”
यसअघि आजको वार्ता निर्णायक नभए तराईमा जारी आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका मोर्चाका नेताहरुले अझै पनि वार्तालाई अस्वीकार नगरिएको बताए ।
“अझै पनि वार्तालाई अस्वीकार गरेका छैनौं तर, आन्दोलन पनि जारी नै रहन्छ,” यादवले भने ।
——————————————————————————-
एमाले–एमाओवादी र मोर्चाबीच वार्ता शुरू
प्रमुख दलका शीर्ष नेता र मधेशी मोर्चाबीच सिंहदरबारमा वार्ता शुरू भएको छ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा जारी वार्तालाई आज निर्णायक बनाउने बताइए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अनुपस्थितिमा हुन लागेको वार्ता निर्णायक हुने सम्भावना न्यून छ ।
यसअघि मोर्चाभित्रै साझा अजेण्डा तय गर्न भन्दै सिंहदरबारमा मधेशी मोर्चाको बैठक बसेको थियो।
जारी वार्तामा सीमांकनको मुद्दामा छलफल हुने सहभागी नेताहरूले बताएका छन्।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले वरिष्ठ नेता झलनाथ खनाल, कानून मन्त्री अग्नी खरेल, राप्रपा नेपाल अध्यक्ष कमल थापा, सहभागी छन्।
मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव लगायतका नेताहरू सहभागी छन्।
